गाडीमा प्रयोग गरेपछि थोत्रिएर फालेका टायर र ट्युब प्रशोधन गरी शतप्रतिशत उपयोगी वस्तु उत्पादन हुन्छ भन्दा धेरैले पत्याउँदैनन्।
रुपन्देहीको देवदह-४ स्थित 'स्पिड इनर्जी इन्डस्ट्रिज'ले भने यसलाई सावितै गरिदिएको छ।
पाँच करोड लगानीमा २०७१ सालमा स्थापना भएको यो उद्योगले दुई पांग्रे र चार पांग्रे सवारी साधनका टायर, ट्युब तथा रबर प्रशोधन गरी फर्नेस तेल, कार्बन ब्ल्याक र स्टिल स्क्र्याब उत्पादन गर्दै आएको छ।
साढे २ विघा क्षेत्रफलमा फैलिएको यो उद्योगबाट उत्पादन हुने फर्नेस तेल र स्टिल स्क्र्याब नेपालकै सिमेन्ट, छड, बिस्कुट, ब्याट्री आदि उद्योगमा खपत भइरहेको छ। कार्बन धूलो इँट्टा उद्योगहरूमा कोइलाको विकल्पमा प्रयोग हुने गरेको छ।
कार्बनलाई भारतमा समेत निर्यात गर्दै आएको उद्योगले जनाएको छ।
स्पिड इनर्जीका प्रबन्ध सञ्चालक अजयमान श्रेष्ठले नेपालमै फर्नेस तेल उत्पादन गर्न सकिन्छ भन्ने कुरा चीन पुगेर थाहा पाएका थिए। व्यापारिक कामको सिलसिलामा चीन गएका बेला उनलाई फर्नेस तेलको उद्योग सञ्चालन गर्न साथीहरूले सुझाएका थिए।
केही समयपछि उनी भारत गए। त्यहाँ पुगेपछि फर्नेस तेल उद्योगबारे अझै राम्रोसँग जानकारी लिने मौका पाए। त्यसपछि उनी लागे उत्पादन प्रक्रिया र त्यसको खपतबारे अध्ययनमा।
अजयमानले नेपालमा फर्नेस तेलको ठूलो बजार रहेको थाहा पाए। यसका लागि आवश्यक कच्चापदार्थ टायर र दाउरा अभाव थिएन।
सहर-बजारमा फालिएका टायर व्यवस्थापन सबभन्दा ठूलो समस्या थियो र छ।
ती कहिलेकाहीँ विभिन्न बहानामा हुने आन्दोलनमा सडकमा बाल्न, सडक निर्माण क्रममा अलकत्रा पकाउन र कहीँकहीँ शव दाहसंस्कारका लागि प्रयोग हुन्थे। त्यसको धुँवाले वातावरणमा ठूलो प्रभाव पार्ने थाहा पाएपछि यसरी बाल्न पनि रोक लगाइएको थियो।
नेपालमै फर्नेस तेल उद्योग खोले राम्रो खपत गर्न सकिने निधोमा पुगेपछि उनी कच्चा पदार्थ (पुराना टायर र ट्युब) का लागि सप्लायर्सको खोजीमा लागे।
नेपालबाट संकलन गरिएका पुराना टायर चोरी-तस्करी गरी सप्लायर्सहरूले भारत पठाउँदा रहेछन्। उनले तिनै सप्लायर्स र टायर संकलकलाई सम्पर्क गरे।
‘पुराना टायरबाट फर्नेस आयल उत्पादन गर्न सकिन्छ भन्ने भएपछि म बुटवलदेखि वीरगञ्ज, विराटनगर, काठमाडौं, पोखरा, धनगढीसम्म सडक किनारमा टायर पञ्चर मर्मत गर्नेहरूसँग सोधपुछ गर्दै र बुझ्दै हिँडेको थिएँ,’ अजय सम्झिन्छन्।
अनि उनले फर्नेस आयल उद्योग खोले।
फर्नेस आयल उत्पादन त भयो, अब बिक्रीका लागि ‘ब्वाइलर’ प्रयोग गर्ने उद्योगीहरू खोजी गर्नु थियो। फलाम, स्टिल, सिमेन्ट, बिस्कुट लगायत ‘ब्वाइलर’ प्रयोग हुने उद्योगहरूमा भारत तथा अन्य देशबाट आयात गरिएको फर्नेस आयल र डिजेल प्रयोग हुँदै आएको थियो।
‘फर्नेस आयल उत्पादनपछि रूपन्देही, नवलपरासी, चितवन लगायतका धेरै उद्योगीलाई जानकारी गराएँ। कतिपयलाई त उद्योगमै लगेर आयल उत्पादन गरेको समेत देखाएँ। अहिले ती उद्योगमा हाम्रै उत्पादन प्रयोग हुँदै आएको छ,’ अजय भन्छन्।
हुलास, चौधरी ग्रुप, लक्ष्मी स्टिल, सगरमाथा स्टिल, हनी फुड्स लगायत दर्जनौं उद्योगले आफ्नै उत्पादन प्रयोग गर्ने उनले बताए। बाहिरबाट आयात गरिने फर्नेस आयल प्राकृतिक खानीबाट निकालिएकाले अलि बाक्लो हुने तथा मेसिनहरूको 'नोजल' छिटो बिग्रिने उनले बताए।
‘प्राकृतिक खानीबाट निकालिएको तेल अलि बाक्लो हुन्छ। जाडोमा जम्ने र मेसिनहरूको नोजल बन्द हुने समस्या हुन्छ। बाक्लो तेललाई तताएर पातलो बनाउँदा विद्युत खपत बढ्थ्यो,’ उनले भने, ‘टायर र ट्युब प्रशोधन गरी निकालिएको तेल पातलो हुने भएकोले मेसिन बिग्रिने समस्या कम हुन्छ।’
नेपालमा फर्नेस आयलको मूल्य ५८ रूपैयाँ प्रतिलिटर छ भने भारत, सिंगापुर, ताइवान लगायत देशबाट प्रतिलिटर ९२ रूपैयाँ तिरेर आयात गरिन्छ। यहाँका हरेक ठूला उद्योगले दैनिक १० हजार लिटर तेल खपत गर्दै आएको श्रेष्ठ बताउँछन्।
भन्सार कार्यालयका अनुसार नेपालमा वार्षिक पाँच करोड लिटर फर्नेस आयल आयात हुने गरेको छ। नेपाली उत्पादनले त्यसको ३ प्रतिशत मात्रै माग पूरा गर्ने श्रेष्ठले बताए। स्पिड इनर्जीबाहेक विराटनगर र रूपन्देहीकै ढेकावारमा थप दुइटा उद्योगले फर्नेस आयल उत्पादन गर्दै आएका छन्।
स्पिड इनर्जीमा दुइटा प्लान्ट भए पनि कच्चा पदार्थ अभावमा दैनिक एउटा मात्रै प्लान्ट सञ्चालन भइरहेको छ। टायर प्रोसेसिङ गरी तेल, कार्बन र स्क्र्याब उत्पादनका लागि एउटै सिफ्टमा ८ घन्टासम्म मेसिन चलाउनुपर्ने हुन्छ।
एकपटकमा ८ टन टायर प्रोसेसिङ गरिने र त्यसबाट तीन हजार लिटर फर्नेस आयल, २० क्विन्टल कार्बन र ५ क्विन्टल तार उत्पादन हुन्छ। टायर प्रोसेसिङ गरी त्यसबाट ४० प्रतिशतसम्म तेल निस्किन्छ भने २५ प्रतिशत कार्बन ब्ल्याक र ३५ प्रतिशत स्टिल स्क्र्याब तार उत्पादन हुन्छ।
श्रेष्ठले सरकारलाई व्यवस्थापन गर्न समस्या भइरहेको र सहर बजारमा प्रदूषण बढाइरहेको टायरबाट शतप्रतिशत वस्तु उत्पादन गर्न सकिएको बताउँछन्। तर पुराना टायर र ट्युब भारततर्फ तस्करी हुनाले कच्चापदार्थ अभाव भएको उनको भनाइ छ।
सरकारले यो तस्करी रोक्न सके आफैंले २० वटा प्लान्ट जडान गरी नेपालमा खपत भइरहेको फर्नेस तेलको ५० प्रतिशत माग धान्नसक्ने उनको दाबी छ।
‘कच्चा पदार्थको चोरी-निकासी मात्रै सरकारले रोक्ने हो भने साढे २ करोड लिटर आयल हामी आफैं उत्पादन गर्छौं,’ श्रेष्ठले भने।
उनका अनुसार यो उद्योगले वार्षिक एक हजार टनभन्दा बढी कार्बन भारत निर्यात गर्दै आएको छ। त्यस्तै नेपालका इँट्टा उद्योगले कोइलाको विकल्पमा माटो र कार्बन मिसाएर इँट्टा पकाउने गरेका छन्।
प्रयोग गरेर फालिएका टायर प्रशोधन गरी डिजेलको विकल्पमा उद्योगले प्रयोग गर्ने फर्नेस आयल उत्पादन हुन थालेपछि टायरको पनि चोरी तस्करी झनै बढेको छ।
थोत्रा टायर र प्लास्टिकजन्य कवाड वस्तुहरू तराईका विभिन्न नाका हुँदै तस्करी हुने गरेको उक्त उद्योगका व्यवस्थापक राजु क्षेत्रीको गुनासो छ। आफूहरू प्रदूषण नियन्त्रण र वातावरण संरक्षणमा महत्वपूर्ण काम गर्दै आएकाले सरकारले पनि संरक्षण गर्नुपर्ने श्रेष्ठको भनाइ छ।
नेपालमा पेट्रोल, डिजेल, मट्टीतेल लगायतका पेट्रोलियम पदार्थ सरह आयातित फर्नेस आयलमा पनि प्रदूषण शुल्क लगाउनुपर्ने उनको माग छ।
कच्चा पदार्थका रूपमा प्रयोग हुने टायर पनि महँगोमा बिक्री हुन्छ।
‘उद्योग सुरू हुँदा ९/१० रूपैयाँ प्रतिकिलोसम्म टायर पाइन्थ्यो। अवैध बाटो हुँदै भारत लैजान थालेपछि नेपालमा २० रूपैयाँ किलोसम्म पुग्ने गरेको छ,’ उनले भने।
त्यस्तै, उत्पादनको परिमाण थोरै भए पनि स्वदेशी उत्पादनलाई उत्प्रेरणा चाहिएको उनले बताए।
‘सरकारले स्वदेशी उद्योगको संरक्षणका लागि नेपालमा उत्पादन हुने कुनै पनि वस्तुको खपत गरेपछि नपुग वस्तुको मात्र आयात गर्ने हो भने स्वदेशी उत्पादन स्वतः फस्टाउँछन्’, उनले भने, ‘कि त सरकारले डिजेल, पेट्रोलजस्तै नेपालमा उत्पादित फर्नेस आयल पनि आफैंले किनेर भण्डारण गरी बिक्री-वितरणको जिम्मा लिनुपर्छ।’
सरकारले वातावरणमैत्री उद्योगहरूलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने पनि उनको माग छ।
‘हामीले कवाडबाट पुराना टायर-ट्युब किन्दा भ्याट बिल पाउँदैनौं,’ उनले भने, ‘तर त्यही टायरबाट उत्पादन भएको तेल, कार्बन र तार बिक्री गर्दा भ्याट तिर्नुपर्छ। यसको नीतिगत समाधान निकाल्नुपर्छ।’