कोरोना लकडाउनमा धेरै व्यवसाय धरापमा परे। त्यसमा पनि धेरै मारमा पर्यो सैलुन। अहिलेसम्म पनि कोरोनाको डरले सबै मान्छे पहिलेजस्तो सैलुन जान झट्ट तयार भइहाल्दैनन्। तर यी सबै जोखिम र चुनौती सामना गर्छु भनेर आँट्ने युवा हुन् ३२ वर्षीय सन्तोष निङ्लेखू।
सन्तोषले लकडाउन चलिरहेकै बेला ६० लाख रूपैयाँ लगानीमा नयाँ सैलुन खोले- द नेक्स्ट लेभल।
'मलाई विश्वास थियो, आँट गरेपछि हुन्छ भनेर। त्यसैले आत्मविश्वास साथ आँखा चिम्लेरै लगानी गरेँ,' सन्तोषले सेतोपाटीसँग भने। सबै ठप्प हुँदा उनले सुरू गरेको पुल्चोकस्थित सैलुनले अहिले राम्रै गति समातिसकेको छ। आधिकारिक रूपमा सञ्चालन घोषणा नभए पनि ग्राहक कमी छैन।
सन्तोष झापाका हुन्। सानैदेखि उनलाई कपाल डिजाइनिङ र स्टाइलिङमा चासो थियो। साथीभाइको कपाल काट्न पनि तम्सिन्थे।
मोबाइल, इन्टरनेट धेरै चल्तीमा नहुँदा पोस्टरमा हेर्दै एकअर्काको कपाल काट्ने गरेको उनी बताउँछन्, 'अहिले थाहा पाउँछु, त्यसताका कोरियन फेसन र कपालको स्टाइल चलनमा थियो।'
उनले यही कामलाई भविष्यमा आफ्नो पेसा बनाउने भने सोचेका थिएनन्। उनी त १२ कक्षा सकेर विदेसिने दाउमा थिए। होटल व्यवस्थापन पढेका उनले २०६६ सालतिर बेलायत जाने तयारी गरे। भिसा प्रक्रिया हुँदै थियो। त्यहीबीच खाली समयमा केही सीप सिकूँ भन्ने उनलाई लाग्यो।
चिनजानका दाइ क्रिश बस्नेतले झापाकै 'टच-अप स्टाइल' सैलुनमा हेयर ड्रेसर काम सिक्न सुझाए। उनी झटपट तयार भए। छ महिना प्रशिक्षण लिए र सेवा दिन पनि थाले।
'तर उता भिसा लागेन। अनि त सीप छँदैछ, नेपालै बसेर काम गर्छु भन्ने भयो,' विदेसिने भूतले छाडेपछि यहीँ केही गर्ने सोच आएको बताउँदै भन्छन्, 'यहीँ बस्ने भएपछि टच-अप स्टाइलमै काम निरन्तरता दिएँ। त्यहाँ दुई वर्ष काम गरेपछि छाडेँ।'
२०७० सालतिर कफी व्यवसाय थाल्ने सोच लिएर उनी काठमाडौं आए। यहाँ आएर 'बरिस्टा' तालिम लिए। प्रशिक्षणक्रममा 'फेसिअल हाउस' मा पनि काम गरे।
'त्यहाँ गएपछि कपाल काट्ने पनि तरिका हुने रहेछ भन्ने बुझेँ। कैंची सही ढंगबाट चलाउन सिकेँ,' उनले भने, 'त्यसपछि कफी व्यवसायको सोच पूरै त्यागेर सैलुनमै काम गरेँ र पाँच वर्षको अनुभव बटुलेँ।'
ती अनुभवले सन्तोषलाई आफ्नै सैलुन सञ्चालन गर्न हौस्यायो। उनलाई यस्तो सैलुन खोल्नु थियो जहाँ ग्राहक पुग्दा सफा र स्वच्छ महशुस गरून्। गुणस्तरीय सामान प्रयोगबाट आफ्नो कपाल, नङ र छालाको राम्रो स्याहार भएको अनुभव गरून्।
यही सोचले कमलपोखरीस्थित सिटी सेन्टरमा उनले सैलुन खोल्ने निधो गरे, झन्डै १८ लाख लगानीमा।
'तर खोलेर सञ्चालन हुनु त परको कुरा, आफ्नै विविध समस्याका कारण काम पनि पूरा हुन पाएन,' उनले त्यसबेलाको दु:ख सुनाए।
आफ्नै सैलुन चलाउने सपना ओइलाएपछि सन्तोष दरबारमार्गस्थित 'ल्याभिस सैलुन' सँग जोडिए। ल्याभिसबाट उनले हेयर ड्रेसिङ र सैलुनसम्बन्धी अझ बढी ज्ञान पाए। त्यहाँ काम गर्दै जाँदा फेरि आफ्नो सैलुन खोल्ने हुटहुटीले तान्यो।
घर-परिवार र साथीभाइसँग सल्लाह गरे। पुल्चोकमा सैलुन खोल्ने तयारी पनि भयो। तर काम सुरू गरेको दुई दिनमै लकडाउनले सबै ठप्प बनाइदियो।
'पहिलेका असफलता बिर्सेर, त्यत्रो आँट गरेर काम थालेको थिएँ, फेरि रोकियो। केही समय त निल्नु कि ओकल्नु भयो नि,' उनले भने।
सन्तोष यसपालि पछि हट्नेवाला थिएनन्। जस्तोसुकै परिस्थितिमा पनि आफ्नो व्यवसायिक योजना अगाडि बढाउन दृढ थिए। आफूले कल्पना गरेजस्तै सैलुन खोल्ने संकल्प जीवितै राखे।
लकडाउन खुकुलो भएसँगै उनले सैलुन सजावट गर्न थालिहाले। भदौसम्म काम सकियो। अनि असोजबाट सेवा विस्तार गरे। यसरी लकडाउनबीच उनले द नेक्स्ट लेभल सैलुन खोलेका हुन्। सन्तोषका अनुसार हालसम्म ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्। साथीभाइले पनि भन्छन् रे, 'तिम्रो हातबाट यसरी सैलुनमा कपाल काट्छु भन्ने सोचेकै थिइनँ।'
साथी र चिनजानका मात्र होइन, अहिले नाम चलेका कलाकार समेत उनको सैलुन आइपुग्छन्। यहाँ सेवा लिन भने पहिल्यै समय लिनुपर्छ। 'अपोइन्टमेन्ट सिस्टम' ले ग्राहकको समय बचाउने उनको भनाइ छ। आफ्नो सैलुनमा सबै सामान गुणस्तरीय र उच्च ब्रान्डका भएको पनि उनी दाबी गर्छन्।
यहाँको वातावरण पनि आकर्षक र सफा छ। सैलुनले कपालसम्बन्धी सेवा मात्र दिँदैन। मेक-अप, आइल्यास एक्सटेन्सन, नेल-आर्ट, म्यानिक्योर, पेडिक्योर लगायत सेवा पनि दिइरहेको सञ्चालक सन्तोष बताउँछन्।
'प्रायः सैलुनमा कपाल मात्र काटिन्छ भन्ने गलत बुझाइ छ। सैलुन कपाल, छाला र नङ स्याहार गर्ने ठाउँ हो। हामी यीसम्बन्धी समस्याको समाधान विकल्प पनि दिन्छौं,' उनले भने, 'सैलुनमा हामी ग्राहकलाई स्टाइलिङबारे समेत बुझाउँछौं।'
कपालको नयाँ-नयाँ स्टाइल आइरहन्छ। कहिले रंगाउने, हाइलाइट गर्ने त कहिले स्ट्रेट-कर्ल गर्ने। सन्तोषका अनुसार धेरैलाई कस्तो स्टाइलमा कपाल काट्दा वा बनाउँदा सुहाउँछ भन्ने ज्ञान कम हुन्छ। सैलुन गएर सेवाग्राहीले त्यो पनि थाहा पाउन सक्छन्।
'जतिसक्दो टिपटप भएर हिँड्ने रहर धेरैलाई हुन्छ,' सन्तोष भन्छन्, 'त्यसका लागि आफूलाई कस्तो कपाल सुहाउँछ र छाला स्याहार कसरी गर्ने भन्ने ख्याल राख्न जरुरी हुन्छ।'
उनले थपे, 'हेयर ड्रेसरले आफ्ना सेवाग्राहीलाई सुहाउँदो कपाल कटाइ वा कलरिङ गराउनसक्नु र त्यसपछिको नतिजाले उनीहरूलाई खुसी बनाउने काम चुनौतीपूर्ण छ।। ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो।'
यहाँ कपाल काट्न ४५ मिनेटदेखि एक घन्टासम्म लाग्छ। हाइलाइटलाई सातदेखि आठ घन्टा समय छुट्याउनुपर्छ। उनका अनुसार नराम्रो गुणस्तरको हेयर कलर वा हाइलाइट दुईदेखि चार घन्टाभित्र हुनसक्छ। तर यसले कपाल बिगार्ने सम्भावना बढाउँछ।
सैलुनको नाम 'द नेक्स्ट लेभल' राख्नुमा साथी सन्तोष राईको देन रहेको उनी बताउँछन्। उनले सुनाए, 'नाम अर्कै राख्ने सोच थियो। तर एकदिन सन्तोष आएर सैलुन हेर्दै 'नेक्स्ट लेभलको रहेछ नि' भन्यो। मनपर्यो अनि त्यही राखेँ।'
आफूसहित जम्मा तीन जना कर्मचारीबाट सुरू भएको सैलुनमा यतिबेला ८ जनाले रोजगारी पाएका छन्। द नेक्स्ट लेभलले कपाल काट्ने र रंगाउने प्रशिक्षण पनि दिन्छ। सामान्यतयाः यो तीन महिने कोर्ष हुन्छ। केही महिनापछि मेकअप प्रशिक्षण सुरू गर्ने योजना रहेको उनले बताए।
आफ्नो इच्छा पछ्याउँदै झन्डै आठ वर्षको निरन्तर मिहिनेतले यहाँसम्म पुगेको बताउँदै उनी भन्छन्, 'नसोचेको कामले यो स्थानसम्म पुगेको छु। यो सोच्दा पनि खुसी लाग्ने रहेछ।'
हामीकहाँ सैलुनसम्बन्धी निकै कम पढाइ र परीक्षण हुने भएकाले भविष्यमा 'हेयर ड्रेसर एकेडेमी' खोल्ने दीर्घकालीन योजना उनले बुनेका छन्।
'मेरो इच्छा नेपालमा हेयर ड्रेसर स्कुल खोल्ने हो। आधुनिक प्रविधिसहित सैलुनसम्बन्धी सिकाइ र पढाइ हुने हो भने नेपालमै राम्रो रोजगार अवसर दिन सकिन्छ,' यसका लागि सरकारसँग सहकार्य गर्नपर्ने उनले बताए।
त्यस्तै विभिन्न सहरमा द नेक्स्ट लेभलको शाखा खोल्ने योजनामा रहेका सन्तोष भन्छन्, 'फेसन र स्टाइलिङले हरकोहीलाई लोभ्याएको हुन्छ। त्यो लोभलाई गुणस्तरीय सेवा दिएर पूरा गर्ने हाम्रो उद्देश्य हो।'