ललितपुरको झम्सिखेलस्थित टिटोज रेष्टुरेण्टको ढोकैमा लेखिएको छ- सेफ्टी फर्स्ट।
बोर्डमा सूचना राखेर उक्त रेष्टुरेण्टले ग्राहकले हात धुनुपर्ने, स्यानिटाइजर र मास्क अनिवार्य लगाउनु पर्ने उल्लेख गरेको छ।
कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको निषेधाज्ञा खुलेसँगै बिहीबारदेखि रेष्टुरेण्ट खुलेका हुन्।
रेष्टुरेण्टका कर्मचारी जेम्स राईका अनुसार फाट्टफुट्ट ग्राहक आउन थालेका छन्।
‘आजदेखि खुला गरेको भएर पनि ग्राहकहरू कमकम नै हुनुहुन्छ,’ उनले भने, ‘बिस्तारै ग्राहकहरू बढ्नुहोला भन्ने विश्वास छ।’
उनले ग्राहकको सुरक्षालाई ध्यान दिइएको बताए।
‘टेबुल, कुर्सीलगायत निर्मलीकरण गरेका छौं,’ उनले भने।
झम्सिखेलकै क्यापिटल ग्रिलका सञ्चालक विवेकमान शेरचनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको जानकारी दिए।
‘हाम्रो तर्फबाट ग्राहकको सुरक्षामा ध्यान दिइएको छ। रेष्टुरेण्ट आउनेबित्तिकै तापक्रम लिन्छौं। हातमा स्यानिटाइजर लगाउन भन्छौं। ग्राहकको नम्बर पनि राख्ने गरिएको छ। पछि केही पर्यो भने पछि ग्राहकलाई सम्पर्क गर्न हुन्छ।’
उनले ग्राहक बसेर उठेपछि पटक-पटक टेबुल कुर्सी निर्मलीकरण गरिने पनि जानकारी दिए।
‘ग्राहकको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘आज पहिलो दिन खासै ग्राहक आउनु भएको छैन। बिस्तारै आउनुहोला। हामी सेवा दिन तयार छौं।’
झम्सिखेलकै रेड मड कफीका सञ्चालक प्रवेश हुमागाईंले २० प्रतिशत ग्राहकमात्रै आएको बताए।
‘हामी ग्राहक कुर्दैछौं। अब दसैं पनि नजिकियो,’ उनले भने, ‘अस्ति खुल्दा ग्राहकहरू आउने क्रम बढिसकेको थियो। निषेधाज्ञापछि आज पहिलो दिन खासै ग्राहक हुनु हुन्न। बिस्तारै आउनुहोला।’
उनले ग्राहकहरू बस्ने कुर्सी टेबलहरूको दूरी मिलाएर राखिएको पनि बताए।
‘एक टेबुल र अर्को टेबुलबीच दूरी २ मिटर फरकमा राखेका छौं,’ उनले भने, ‘कर्मचारीले मास्क, फेस सिल्ड लगाउनुहुन्छ। ग्राहकको तापक्रम लिएर मास्क र सेनिटाइजर लगाउन अनिवार्य रूपमा भन्छौं।’