राजधानीको भृकुटीमण्डपमा १७ औं हस्तकला व्यापार मेला सुरु भएको छ। नेपाल हस्तकला महासंघले आयोजना गरेको यो मेला मंसिर १६ गतेसम्म संचालन हुनेछ।
मेलामा करिब २०० स्टल छन्। मेलामा भारत, श्रीलङ्का, बङ्गलादेश तथा पाकिस्तानी उत्पादनको पनि बिक्री कक्ष राखिएको छ। नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासंघले विगत तीन दशकदेखि मेला आयोजना गर्दै आएको छ।
मेलामा धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलनबाँसका वस्तु राखिएका छन्।
नेपालका विभिन्न भौगोलिक क्षेत्रमा प्रतिनिधित्व गर्ने भेषभूषा, खानाको परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सांस्कृतिक कार्यक्रमलाई मेलामा प्रस्तुत गरिएका छन्।
मेलाको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे। सो अवसरमा खतिवडाले साना, मझौला र घरेलू उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताएका छन्।
उनले निर्यात हुने वस्तुमध्ये हस्तकलाको विशेष महत्व रहेकाले यस व्यवसायको प्रवद्र्धनका लागि लक्ष्यसहितको वार्षिक कार्यतालिका लिएर आएमा समस्या समाधान गर्न आफूले सहयोग गर्ने आश्वासन दिए।
महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आन्तरिक बजारमा करिब १० अर्बको हस्तकला सामग्रीको कारोवार हुने गरेकाले यसको विकास गर्न सकेमा रोजगारी विकास भई देश समृद्ध बन्ने बताए।