जनकपुरधाममा अधिकांश मिठाईमा अखाद्य वस्तु मिसाएको पाइएको छ।
जनकपुरधामको बजारमा राष्ट्रिय मानव अधिकार आयोग, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमनले मिठाईमा अखाद्य वस्तु मिसाइएको पुष्टि गरेको हो।
सो टोलीले अनुगमनको शुरुवात जनकपुरधाममा रहेको नाम चलेको हंसराज मिठाई पसलबाट गरेको थियो।अनुगमनको क्रममा पुरानै मिठाईलाई सुकाएर नयाँ बनाइ बेचेको र दूध फटाउने फिटकरी, हाइडो, सेफोलाइट लगायतका अखाद्य वस्तुहरुको प्रयोग भएका पाइएकोले ती सबै खाद्य वस्तुलाई जफत गरी नष्ट गरेको अनुसन्धान टोलीले जानकारी दिएको छ।
मिठाईमा अखाद्य बस्तुका साथसाथै डेट एक्सपायर भएका खाद्यबस्तुहरुको पनि प्रयोग गरिएको अनुगमनटोलीको निष्कर्श छ। अनुगमनटोली मिठाई पसलको भान्सामा पुग्दा मिठाई बनाउन खटिएका कामदार फोहोर भान्सामा, फोहोर लुगा लगाएर नङ पालेका फोहोर हातले नै मिठाई बनाइरहेको समेत भेटिएको अनुगमनटोलीको भनाइ छ।
मिठाई पसलका संचालकलाई भान्सामा प्रयोग गरिने सवै सामानको सरसफाईमा ध्यान दिन मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारीले निर्देशन दिएका छन्।जनकपुरधामको अर्को नाम चलेको मिठाई पसल रघुपति मिष्ठान भण्डारको हालत पनि उस्तै देखियो।
यक्त पसलमा अनुगमन गर्दा झिंगा भन्केको, लामखुट्टेको घर बनाएको फोहोर ठाउँ र मिठाईमा सडेको घ्यू प्रयोग भईरहेको पाइएको हो।
ती सबै सामानलाई अनुगमन टोलीले नष्ट गरेको छ। अखाद्य वस्तु मिसाएर उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कर्णेलले बताए।
बिहान देखि नै अनुगमनान खटिएको उक्त टोलीले जनकपुरधामका बिभिन्न मिठाई पसलमा अनुगमन गरेको थियो। जसमध्ये अधिकांशले मापदण्ड बिपरित मिठाई बनाएको भेटिएको अनुगमन टोलीको भनाइ छ।