गोविन्द प्रसाद तिवारीलाई एक दिन उनकी श्रीमतीले भनिन्, ‘बूढा, होटल खोलौं। बच्चाहरूलाई के खुवाउने, चिन्ता हुँदैन।’
गोविन्द किराना पसल चलाउँथे। नारायणगढको शहिद चोकमा।
उनलाई श्रीमतीका कुरा निको लागेन। होटल रुचाउन्न थिए। छेउमा भर्खरै बिरामी भएर तंग्रेकी सानी छोरी थिई। जोगाएर राखेको पैसा उसको उपचारमा सकिएको थियो। अलिकति ऋण पनि थपिएको।
‘छोरीलाई त जेनतेन निको पार्यौं। आफैं बिरामी भइयो भने?,’ श्रीमती पवित्रादेवीले चिन्ता देखाइन्। सम्झाइन्। मनाउन खोजिन्।
गोविन्दले २०३५ साल सम्झे। उनी आफ्नो घर कास्कीबाट जीन्दगीमा ‘केही गर्नुपर्छ’ भन्दै चितवन हानिएका थिए। १६ वर्षको उमेरमा। पैसा जोहो गरेर पसल खोले। तीन वर्षपछि बिहे पनि गरे।
त्यहीबेलाको ऊर्जा समेटेर भने, ‘हुन्छ।’
‘निर्णय गरे पनि बिना अनुभव होटल व्यवसायमा हामफाल्ने सोचिनँ,’ गोविन्दले ती दिन सम्झिँदै भने, ‘केही समय अध्ययन गरेर मात्र सुरु गर्ने सोचेँ नारायणगढमा होटल टन्नै थिए। तिनले दिनेभन्दा भिन्न परिकार र स्वाद खोज्न थालेँ।’
किराना पसलमा उनले धेरै प्रकारका मसला बेचेका थिए। तिनै मसलालाई आफ्नो ‘रेसिपी’ बनाउने निर्णय गरे।
‘धेरै खाले मसला मिसाएर नयाँ स्वाद खोज्न थालेँ। मसला बनाउँदै, चाख्दै, साथीभाइलाई चखाउँदै परीक्षण गरेँ’ उनले भने।
परीक्षण सहज भएन।
उनीहरूले धेरै थरी बनाएर चाखे। मिश्रण नमिलेर मसलाले कहिले टाउको दुख्थ्यो, कहिले मुखको छाला जान्थ्यो। कहिले जिब्रो सुन्निथ्यो त कहिले पखाला लाग्थ्यो।
यी सबै समस्या उनले झेले। साथीभाइलाई झेलाए। एक वर्षसम्म।
‘परिश्रमको फल मिठो हुन्छ भनेझैँ एक वर्षको परीक्षणपछि मैले विशेष स्वाद पत्ता लगाइछाडेँ,’ त्योबेलाको खुसी मुहारमा झल्काउँदै उनले भने, ‘१२–१५ जना साथीलाई बोलाएर त्यसमा पकाएका परिकार चखाएँ।’
विशेष प्रकारले बनाइएको मासु, भुजा, अचार र सलादको खाजा सेट– तास।
उनको ‘तास’ सबैले रुचाए।
२०४४ बैशाख १६ गते ‘भेटघाट’ होटल खुल्यो। पहिलो दिन पाँच किलो खसीको मासुको तास पाक्यो।
यो त्यही तास हो, जो आज सयौं होटलमा पाक्छ। पाँच तारे होटलका मेनुमा छ। देशका विभिन्न ठाउँमा फैलिएको छ।
‘यो खानेकुराको नाम तास कसरी रह्यो?’
हाम्रो प्रश्नमा गोविन्द हाँसे।
भने, ‘सबैले यो जिज्ञासा राख्छन्। यसमा केही विशेष छैन। धेरै सोचेर राखेको नाम पनि होइन।’
‘अनि?’
‘पहिले पहिले धेरैजसो मान्छे रक्सीसँग मासु खान र तास खेल्न रुचाउँथे। यो पनि रक्सी–मासुसँगै मिल्ला भनेर नाम तास राखिदिएँ। यसको अरु कुनै अर्थ छैन।’
सुरुका दिनमा पवित्रादेवी काउन्टर सम्हाल्थिन्। गोविन्द मासु काट्थे। मसला मोल्थे। पकाउँथे।
उनले ६ महिनासम्म किराना पसल बेचेनन्।
‘होटल चल्छ–चल्दैन, थाहा थिएन। नचले त बन्द गरेर फेरि पसल नै चलाउनुपर्छ भनेर बेचिनँ,’ उनले भने।
एक लाख ऋण खोजेर होटल खोलेको थिए। बन्द गर्नुपरेन। पसल खोल्नुपरेन।
‘व्यापार राम्रो भयो। जसका लागि सुरु गरेको थिएँ, उनीहरूले पनि पढाइमा राम्रो गरे,’ आफ्ना छोराछोरीको पढाइबारे उनले सुनाए।
जेठी छोरी र कान्छो छोरा डाक्टर।
जेठो छोरा महेशले भने काठमाडौंमा उनको बिँडो थामेका छन्। अनामनगरमा होटल छ। बुबाको मिहिनेत उनले यहाँ बाँडेका छन्।
सुरुमा त उनी बैंकमा काम गर्थे। बाबु गोविन्द खुसी थिए। छोराले होटल खोलेर बसोस् भन्ने चाहन्थेनन्।
महेश भने काठमाडौं आएदेखि नै होटलहरूमा ‘यहाँ चितवनको तास पाइन्छ’ लेखेको देख्दा निकै रमाउँथे। सँगै तास बनाउने आफ्ना बाबुको नाम गुमनाम हुँदा चित्त दुख्थ्यो।
‘बैंकमा काम गर्ने मन थिएन,’ महेशले भने ‘म काम गर्ने ठाउँको वातावरण ठीक लागेन। मेरो क्षमताको कदर पनि भएन। जागिर छोडिदिएँ।’
उनको रुचि बुबा गोविन्दकै पेशामा थियो।
बुबाको सपना भने छोरालाई बैंकको हाकिम बनाउने। छोराले व्यापार गर्छु भन्दा कहाँ मान्थे र!
गोविन्द मात्र होइन, महेशका स्कुल, कलेजका कतिपय शिक्षकले पनि होटल नगर्न सुझाए।
महेश पछि हटेनन्। बुबालाई मनाएरै छाडे।
‘२०६९ सालमा अनामनगरमा २५ लाख तिरेर ठाउँ लिएँ। होटल तयार पार्दासम्म ८० लाख खर्च भयो। केही पैसा बुबाले दिनुभयो। केही बैंकबाट ऋण लिएँ,’ उनले भने।
उनको एउटै चिन्ता थियो, चितवनमा बुबाले बनाउँदै आएको तासको स्वाद काठमाडौंमा फरक नपारोस्। उपाय लाए। बुद्ध एयरसँग सम्झौता गरी चितवनबाटै बुवाले मसलामा मोलेको मासु ल्याए।
महेशले चिकेन तास पनि बनाउन थाले। अनामनगरमा चल्तीका अरु रेस्टुरेन्ट छन्। उनलाई प्रतिस्पर्धा र चुनौती दुवै थियो। धेरैले तर्साए पनि।
‘कतिले धम्क्याए। कतिले बाउले दुःख गरेर कमाएको पैसा उडाउने भइस् भने। तर ग्राहक एक न एकपटक मेरोमा आउँछन् र खाएपछि मन पराउँछन् भन्नेमा ढुक्क थिएँ,’ उनले भने।
सुरुमा चितवनमा तास खाएका वा चितवन–काठमाडौं गरिरहेका मान्छे मात्र आए पनि धानिन सकिएला भन्ने उनको सोच थियो।
उनको मिहिनेतले पनि सफलताको सिँढी उक्लन थाल्यो। पछाडि फर्किनु परेन।
‘होटल चल्दै गएपछि ४/५ वटा आउटलेट खोल्ने योजना थियो। तर सोचे जस्तो सधैं हुँदो रहेनछ,’ उनले निन्याउरो हुँदै भने।
२०७० सालमा आमा पवित्रादेवीलाई क्यान्सर देखियो। उपचार गर्न दिल्ली लगे। करिब १० महिना उतै बसे। त्यो बेला महेशले व्यापारबारे केही सोच्नै सकेनन्।
‘आमालाई अलि सन्चो भएपछि नेपाल आयौं। मैले पोखरामा आउटलेट खोल्ने तरखर गरेँ। आमालाई फेरि बल्झियो,’ उनले सुनाए।
पवित्रादेवीको निधन भयो। आमा गुमाएको दुई महिनापछि महेशको बच्चा जन्मियो। तर जन्मिएको ४ दिनमै उनले बच्चा पनि गुमाए।
‘आमा, बच्चा सबै गुमाएपछि काठमाडौंको व्यापार लथालिङ्ग भयो,’ महेशले भने, ‘बिस्तारै बुबा सम्हालिनुभो। चितवनको व्यापार हेर्न थाल्नुभो। म र मेरी श्रीमती ती दुःखबाट उक्सेकै थिएनौं।’
एक वर्षपछि उनको अर्को बच्चा जन्मियो। तिवारी परिवारले पीडा पन्छाउँदै गयो। महेश पनि व्यवसायमा समय दिन थाले।
अहिले उनी आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का काम गर्दैछन्।
चितवनको लङ्कुस्थित धर्मचोकमा पौने तीन विगाहा जग्गामा ‘चिल्ड्रेन, एम्यूज्मेन्ट पार्क डाइनासोर र वाटर पार्क’ बनाउँदैछन्। सँगै दुइटा रेष्टुरेन्ट पनि। एउटामा तास पाइनेछ। अर्कोमा अन्य परिकार व्यवस्था हुने महेशले जानकारी दिए।
‘यो काम सकेपछि बुबाको जन्मथलो पोखरा र त्यसपछि बुटवलमा आउटलेट खोल्ने उद्देश्य छ,’ उनले भने, ‘बुबाले चितवनमा २८ वर्ष बिताएपछि बल्ल काठमाडौंमा रेष्टुरेन्ट खोल्न सफल भएको हुँ। त्यसैले हतार चाहिँ गर्दिनँ।’
महेशले पनि गोविन्दको ‘रेसिपी’ सिकिसकेका छन्। तर बुबाले बनाउने जस्तो हुन्न कि भन्ने डर छ। त्यसैले अहिले पनि मसला मोलिएको मासु दैनिक हवाइजहाजबाटै मगाउने उनी बताउँछन्।
उता गोविन्दलाई पनि छोराले व्यवसाय बढाएकोमा गर्व छ। आउटलेटले प्रगति गर्नेमा महेशभन्दा पनि उनी निर्धक्क देखिन्छन्।
‘मेरो सीपमा म ढुक्क छु। देशभर ‘चितवनको तास’ पुगेकामा गर्व छ,’ गोविन्दले भने, ‘नारायणगढ–भरतपुर आसपासमा करिब ३० वटा तास रेष्टुरेन्ट छन्। १०–११ वटा त मेरै रेष्टुरेन्टमा काम गरेका कर्मचारीले खोलेका छन्। तास चितवनबाट सुरु भएको हो भन्ने सबैलाई थाहा होस्। यही इच्छा छ।’
तासको नाममा जस्तो पायो त्यस्तै मासु बेच्नेहरुप्रति भने उनी रुष्ट छन्।
‘तपाईंले बनाउने तासको मसला चाहिँ के–के हो? भन्न मिल्छ?,’ हामीले गोविन्दलाई सोध्यौं।
‘हा..हा..हा..हा किन नमिल्नु?’ उनले हाँस्दै भने, ‘त्यस्तो नयाँ मसला केही पनि छैन।’
ल्वाङ, सुकुमेल, दालचिनी, पिप्ला, सुठो, अलैंची, जाइपत्री, अदुवा, लसुन, खुर्सानी, जिरा।
‘ल्याब टेष्ट गर्यो भने पनि यीबाहेक केही भेटिँदैन,’ उनले भने, ‘कुन मसला कति मिसाउने भन्ने मात्र हो। स्वाद फरक हुने पनि त्यसैले हो।’
यी मसलासँग उनको दैनिकी गाँसिएको छ। अहिले पनि बिहान ५ बजे उठेर होटल हानिन्छन्। मासु मोल्छन्। ९ बजेसम्म सबै काम सक्छन्। अनि काउन्टरमा बस्छन्। पहिले श्रीमती पवित्रादेवी बस्थिन्। भित्तामै उनको फोटो टाँगेका छन्।
त्यही फोटो हेर्दै गोविन्दले भने, ‘उनले खान दुःख नहोस् भनेर होटल खोल्न कर गरेकी थिइन्। उनकै प्रेरणाले मैले धेरै कमाएँ।’
‘आज ५ तारे होटलका मेनुमा तास हुनु मेरो जिन्दगीको ठूलो कमाइ हो।’
सबै तस्बिरहरू : सुधिर भण्डारी