दरबारमार्गको शालिकबाट नारायणहिटी जाँदै गर्दा देब्रे तर्फको घरको पहिलो तल्लामा छ ‘नौलो रेष्टुरेन्ट’।
बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेल उक्त रेष्टुरेन्ट उद्घाटन गर्न गए। सानोतिनो रेष्टुरेन्ट उद्घाटन गर्न मन्त्री नै किन गए त ?
नौलो रेष्टुरेन्ट नामझैं नौलो नै छ। रेष्टुरेन्टको डिजाइन हेर्दा अन्तरिक्षमा गएको भान हुन्छ। सिलिङमा अकासीय पिण्ड चित्रण गरिएको छ भने बत्तिलाई पनि बादलको आकार दिइएको छ।
टेबुल पनि अन्य सामान्य रेष्टुरेन्टका भन्दा अलि फरक छ। डिजिटल टच टेवल एउटा ठूलो स्मार्टफोन जस्तो देखिन्छ। खाना अर्डर गर्दा कुनै कागजमा लेखेर होइन त्यही टेबलको स्कृनको अप्सन हेरेर क्लिक गरेको भरमा अर्डर हुन्छ।
रेष्टुरेन्टमा प्रवेश गरेपछि वेटर हेइन, ‘जिन्जर’ र ‘फेरी’ नाम गरेका रोबोट सेवा दिन आउँछन्। रेष्टुरेन्टमा जिन्जर नामका ३ वटा र फेरी नामका दुई रोबोट छन्। पाहुना टेबुलमा पुग्ने वित्तिकै फेरी नाम गरेका रोबोट पानी पुर्याउन जान्छन्।
फेरीको पानी पुर्याउने कामपछि जिन्जरको पालो आउँछ। सेफले खाना तयार पारिसकेपछि जिन्जरले खाना पाहुनासम्म पुर्याउँछ र टेबलमा कुनै सामान भए हटाउन अनुरोध गर्छ।
उक्त रेष्टुरेन्टमा सेवा दिने रोबोट नेपाली इन्जिनियरहरुले नै बनाएका हुन्। इन्जिरियरिङ पढेका रविन गिरी, सागर श्रेष्ठ, निरज बस्नेत, वसिम अक्रम खान, दिपकमल भुषाल तथा व्यवस्थापन पढेका विनय राउत र आयुस कसजुले संचालन गरेको यो रेष्टुरेन्टको उद्देश्य खाना बेचेर पैसा कमाउनु मात्र होइन।
‘यो रेष्टुरेन्टको उद्देश्य भनेको रोबोटको कामका बारेमा सबैलाई जानकारी गराउनु र रोबोटको केही कमजोरी भए त्यो पनि पत्ता लगाउनु हो’ रविन गिरीले भने ‘यी रोबोट संसारकै एड्भान्स वेटर रोबोट हुन्।’
नेपाली इन्जिनियरहरु आवद्ध रहेको पाइला टेक्नोलोजीले २ वर्ष देखि नेपालमै यी रोबोट बनाइरहेको थियो। रोबोट बने पनि केही कमजोरी होला कि भन्ने डर उनीहरुमा थियो।
अब के गर्ने त ?, एमबिए सकेका विनय राउतले सुरुमा आफूहरुले नै रेष्टुरेन्ट खोलेर रोबोट परीक्षण गर्ने बिचार गरे र सातै जना सहमत भए। ‘यी रोबोट सुरुमै बेच्नुभन्दा यिनको प्रयोग हुनेगरी रेष्टुरेन्ट खोल्यौँ’ गिरीले भने ‘रेष्टुरेन्टमा सबै चिज नयाँ भएका कारण नाम पनि नौलो राख्यौँ।’
उनीहरुले रेष्टुरेन्टमा नयाँपन ल्याउन ‘डिजिटल टच टेवल’ बनाए र डेकोरेसन पनि प्रविधि झल्कनेगरी बनाए। रोबोटको रिसर्चदेखि रेष्टुरेन्ट तयार पार्दासम्म करिव ३ करोड रुपैयाँ खर्च भएको गिरीको भनाइ छ।
रेष्टुरेन्टमा एक पटकमा ४८ जनासम्मले सेवा लिन सक्छन्। बिहान ९ बजेदेखि बेलुका १० बजेसम्म खुल्ने यहाँ आइसक्रिमदेखि थकाली खानासम्मका परिकार उपलब्ध छ। यहाँ किचनमा १२ जना र बाहिर ३ जना गरी १५ जनाले रोजगारी पाइरहेका छन्।
यी रोबोटहरुमा स्मार्ट पावर सेभिङ सिस्टम रहेकोले निकै कम बिजुली खपत हुने र काम नभएको समयमा अटोमेटीक चार्जिङमा जाने उनले जानकारी दिए।
उनीहरुको समूह अहिले रोबोटको मास प्रोडक्सनमा भने गएको छैन। १/२ वर्ष परीक्षण गरेर मात्र बेच्ने विचार भएको गिरीले जानकारी दिए। आफूहरुले बनाएका रोबोटलाई नेपालमा बनेको भनेर विश्वभर चिनाउने उनीहरुको उद्देश्य छ। ‘मेड इन नेपाल लेखेको रोवर्ट विश्वभर फैलाउने हाम्रो टिमको सपना हो’ गिरीले भने।
तस्वीरः निशा भण्डारी/सेतोपाटी