छ वर्ष पहिले रिजेन थापालाई मोडलिङ एजेन्सीबाट फोटो सुटको लागि फोन आयो। पेसा नै मोडलिङ, त्यसमाथि विदेसी प्रोजेक्ट भएपछि पारिश्रमिक राम्रै हुने।
उनले तुरुन्त हुन्छ भने। भोलिपल्ट बिहानै पुतलीसडकस्थित एजेन्सी हानिए। जर्मनीबाट मान्छे आएका रहेछन्।
इमेज च्यानलमा म्युजिक अफ योर च्वाइस, एसएमएस एण्ड मोरको प्रस्तोता र निर्माता भइसकेका रिजेनले यसअघि थुप्रै फोटो सुट गरिसकेका थिए। म्युजिक भिडियोमा अभिनयका साथै र्याम्पमा पनि हिँडिसकेका थिए।
तर, यो फोटो सुट उनका निम्ति अलग अनुभव बन्यो।
जर्मनहरूले उनलाई विभिन्न कपडा लाउँदै फोटो खिच्न लगाए। दिनभरमा करिव ६० वटा कपडामा रिजेनले फोटो खिचाए।
ती कपडा जर्मनहरूले उतैबाट ल्याएका थिएनन्। न यहाँ पाइने कुनै विदेसी ब्रान्डको थियो।
ती सबै नेपाली कपडा थिए। रिजेनले यसअघि यस्ता कपडा लगाएका थिएनन्।
६० वटा कपडा लगाउन्जेल उनको मनमा एउटा प्रश्न खेल्यो ‘किन यो कपडा लगाएका फोटा खिचाउँदैछन् यी विदेसी?‘
उनले थाहा पाए, जर्मनहरूले आफ्नो देशमा पठाउन नेपाली कपडाका फोटा खिचाउँदै छन्।
‘ठमेल, पोखरा घुमेका पर्यटकले यी लुगा खुब मन पराउने रहेछन्,’ उनले भने, ‘जर्मनहरूले फोटो खिचेर क्याटलग बनाएर उता पठाउने र कपडाको अर्डर लिएर नेपालबाट लैजाने रहेछन्।’
रिजेनलाई पनि विदेसीको नेपाली कपडा मोहले आकर्षित गर्यो। लगाउँदा सजिलो र स्टाइलिस पनि लाग्यो।
‘मैले त्यो दिन ५ हजार पारिश्रमिक पाएँ। तर त्योभन्दा धेरै कमाएझैं लाग्यो,’ रिजेनले भने।
उनले निधो गरे म पनि यो कपडा बेच्छु। तर, विदेसीलाई होइन नेपालीलाई नै।
रिजेनको मोडलिङ यात्रासँगै ‘व्यवसाय’ पनि हिँड्न थाल्यो।
‘सुरुमा निकै गाह्रो भयो,’ रिजेनले अनुभव सुनाए, ‘ती कपडा होलसेलमा किन्न कहाँ पाइन्छ भन्ने थाहा थिएन। कपडा खोज्न ठमेलका गल्ली–गल्ली चहारेँ’
बल्लतल्ल ठाउँ पत्ता लगाए।
समस्या सुल्झिनुको साटो उल्टो थपियो। विदेसीलाई लक्षित गरी बनाइएका कपडाको साइज निकै ठूला हुने।
‘त्योबेला साना साइजका लुगा पाउन गाह्रो भयो,’ उनले भने, ‘होलसेल व्यापारीसँग यहीँका मान्छेलाई बेच्ने हो, सानो साइज चाहिन्छ भन्दा पनि पत्याउँदैनथे। नेपालीले लाउँदैन यस्ता कपडा भन्थे।’
सुरुआत उनैले गरे।
केही साथीले ‘खैरे’ ले लाउने कपडा लायो भन्दै जिस्क्याए।
पछि–पछि तिनै साथीले ‘तँ मोडल हो, जिउडाल राम्रो छ, तँलाई पो सुहाउँछ, हामीलाई सुहाउँदैन’ भन्न थाले।
रिजेनले उपाय लाए।
सबभन्दा पहिले साथीहरूलाई ती लुगा उपहार दिन थाले।
‘उपहार दिएपछि त त्यसै फाल्दैनन्, लगाइ हाल्छन्। एकजनाले लगाएपछि कम्तिमा अरु दुई जानाले सोध्छन् नि भन्ने मेरो सोच थियो’ उनले भने।
त्यस्तै आफूले चिनेका कपडा पसलमा ती नेपाली लुगा राख्न अनुरोध गरे। त्यसबाट उनले थोरै–थोरै नाफा लिन थाले।
तर यो गति सुस्त भयो।
‘अलि धेरै परिमाणमा बेच्न अलि भिडभाड भएको ठाउँमा जानुपर्छ’ उनले सोचे।
एक साथीले सल्लाह पनि दिइहाले।
भने, ‘मेलामा जा न, त्यहाँ धेरै मान्छे हुन्छन्। नेपाली कपडाबारेमा धेरैले थाहा पनि पाउँछन्।’
उनले त्यसै गरे।
‘७१ साल तिरको कुरा हो। मेला कहाँ, कहिले लाग्छ भनेर खोज्न थालेँ। साथीहरूको सहयोगमा मेला लागेको ठाउँमा गएर कपडा बेच्न थालेँ’ उनले भने, ‘मेलामा म र मसँग जाने साथी यिनै नेपाली कपडा लाउँथ्यौं।’
यसरी उनले मेलामा नेपाली कपडाको व्यापार थाले।
एक कलाकारले यसरी मेला–बाटामा कपडा बेचेको देख्दा धेरैले अचम्म मान्छन्।
तर उनको यो व्यापार यात्रा भने ‘विदेसी प्रोजेक्ट’ ले मात्र तय गरेको होइन।
उनी बाल्यकालदेखि नै व्यवसायसँग घुलमिल थिए। उनकी आमासँगै।
मकवानपुरमा जन्मिएका उनी सानैदेखि भक्तपुरको बालकोटमा बसे। आमाले बालकोटमा तरकारी पसल राखेकी थिइन्। यसैको आडमा उनले तीन सन्तान हुर्काएको रिजेन बताउँछन्।
‘केटाकेटीबेला भने मेरो ध्यान व्यापारमा थिएन। कलाकार बन्ने सपना थियो। त्यसैमा लागेँ,’ उनले भने, ‘स्वर राम्रो बनाउन तालिम लिएँ। स्टेजमा कसरी बोल्न पर्छ भन्ने सिकेँ। निखार आउँदै गएपछि विभिन्न ब्रान्डले प्रचारात्मक टुरमा कार्यक्रम प्रस्तोताको रुपमा लैजान थाले।’
काममा हिँड्न थाले पनि उनी आमाले नभ्याएको समयमा तरकारी पसलमा बस्थे।
‘घरको काममा त मलाई त्यति रूचि थिएन। तर पनि पसलमा बस्न भने खुबै मन लाग्थ्यो’ उनले हाँस्दै भने ‘पैसा चोर्न पाइन्थ्यो, त्यही भएर हो कि।’
उनको बाल्यकाल चोकमै बित्यो। उनी त्यहाँ धेरै मान्छेसँग बोल्थे। त्यहाँ उनले अन्जानमै फरक–फरक मान्छेसँग बोल्ने शैली सिकिसकेका थिए।
फिल्ममा धेरै रूचि भएकाले कतै सुटिङ, सडक नाटक भएको थाहा पाउने बित्तिकै दौडिहाल्थे। विस्तारै फिल्मक्षेत्रका मान्छेसँग चिनजान बढ्यो र फिल्म सम्बन्धि नै काम गर्न थाले।
‘स्कुल—कलेजमा पनि म विभिन्न साँस्कृतिक कार्यक्रममा भाग लिन्थेँ,’ उनले सुनाए, ‘होस्ट बन्थेँ, नभए प्रस्तोता।’
तर फिल्म क्षेत्रमा उनले तीता अनुभव पनि बटुले। धेरै मान्छेसँग चिनजान भएपनि ‘केटाकेटी’ जस्तो देखिने भएर कसैले फिल्म भने नखेलाएका उनी बताउँछन्।
फिल्म नपाए पनि उनले र्याम्पमा हिँड्न पाए। रेडियो–टिभी कार्यक्रम चलाए। प्रोडक्सन सम्हाले, ब्रान्ड टुरमा गए, नाटक खेले, फोटोसुट गरे। म्युजिक भिडियोमा सहायक निर्देशकको काम पनि गरे।
‘यी सबै काम मेरा सपनाका खुड्किला थिए,’ उनले भने, ‘जे मिल्यो, त्यो गर्थेँ।’
उनलाई टिभीमा भने काम गर्ने खासै रहर थिएन। तर करिब ७ वर्ष अगाडि च्यानल नेपाल टेलिभिजनमा प्रवेश गरे।
‘टिभीमा काम गरेपछि विभिन्न ब्रान्डको प्र्रमोसन कार्यक्रम धेरै चलाउन पाइन्थ्यो। ब्रान्डको प्र्रमोसनबाट अम्दानी पनि राम्रो हुन्थ्यो,’ उनले भने।
सधैं यसरी मात्र चल्दैन थियो।
आफ्नो ‘पोर्टफोलियो बलियो बनाउन उनलाई ठूलो मिडियाको खाँचो थियो। त्यसैले २०१२ मा इमेज च्यानलले आयोजना गरेको ‘इमेज भिजे हन्ट’ नामक रियालिटी शोमा प्रतिस्पर्धा गरे। त्यो वर्ष फाइनलिस्टमै सिमित भए।
‘सायद त्योबेला फिल्म क्षेत्रका मान्छेले भने जस्तै म केटाकेटी नै देखिन्थेँ होला’ उनले भने।
तै उनी पछि हटेनन्।
सन् २०१४ मा फेरि ‘इमेज भिजे हन्ट’ मा अडिसन दिए।
रिजेन छानिए।
म्युजिक अफ योर च्वाइस, एसएमएस एण्ड मोर, इम्याग कार्यक्रममा जोडिए।
उनको करिअरको ‘टर्निङ प्वाइन्ट’ यही बन्यो।
‘पहिला मेरो एक पुस्ताका निर्देशकसँग मात्र चिनजान थियो। इमेजमा आएपछि चार पुस्ताका निर्देशक चिनेँ’ उनले भने।
सफलताको बाटो लम्किँदै गर्दा उनलाई अध्ययन पनि चाहिने रहेछ भन्ने अनुभूति भयो। दुई पटक कलेज छाडिसकेका थिए। उनले छानेको विषयमा रूचि नै थिएन।
अन्त्यमा गएर ओस्कार कलेजमा अभिनय विधा पढ्न स्नातक तहमा भर्ना भए।
‘अरु संकायमा दुई पटक कलेज ड्रप गरिसकेको थिएँ। अभिनयमा निकै राम्रो अंक ल्याएँ। तेस्रो वर्ष त विशिष्ट श्रेणी नै आयो,’ उनले सुनाए।
अभिनयमा रमाइरहेकोलाई व्यवसायमा जान केले हौस्यायो?
‘नेपालमा कलाकारिताबाट मात्रै बाँच्न गाह्रो छ। त्यही भएर अरु केही काम गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘मोडल रुबी राणाले जस्तै।’
कसरी?
‘कुनै कलाकार वा सेलिब्रेटीले छुट्टै व्यवसाय गरे यो क्षेत्रमा स्थापित हुन सकिन्छ भन्ने मैले रुबी राणाबाटै सिकेको हुँ। पहिलो मिस नेपाल भएपनि उहाँले संचालन गर्नुभएका व्यवसायले उहाँलाई यहीँ टिकाइराख्न मद्दत गरेको जस्तो लाग्छ।’
रुबी राणालाई उनी आफ्नो आदर्श मान्छन्। भन्छन्, ‘मैले व्यवसाय गर्नुको प्रेरणा नै उहाँलाई जान्छ। व्यवसाय गर्ने इच्छा हुनुपर्छ। ठूलो सानो भन्ने हुँदैन।’
त्यसैले त मान्छेले चिने पनि मेलामा गएर कपडा बेच्छन्।
उनले एउटा अनुभव सुनाए।
एकपटक कागेश्वरी मेलामा कपडा बेच्दै गर्दा अफिसको सुरक्षा गार्डले भेटेछन्।
‘ओहो सर, सुटिङ गर्दै हो, खोइ त क्यामरा’ भनेर सोधेछन्।
उनले कपडा बेच्न आएको भन्दा पत्याएनछन्।
‘धेरै पछि मात्र उहाँले साँच्चै बेच्दै रहेछ भन्ने विश्वास गर्नुभयो,’ उनले हाँस्दै भने, ‘यस्ता घटना भइरहन्छन्।’
‘कसरी बेच्नुहुन्छ कपडा?’
‘हल्का अभियन मिसिन्छ नि,’ रिजेनले भने, ‘त्यही भएर मान्छे छिटो जम्मा हुन्छन्।’
उनका अनुसार मेलामा लुगा बेच्न उनी अनेकौं उपाय लाउँछन्। मेला भएको ठाउँमा रुख छ भने हाँगामा कपडा टाँगेर ‘ल है रुखमा लुगा फल्यो’ भन्छन्।
नेपालीपन झल्काउन एउटा छेउमा नेपालको झन्डा, अर्को छेउमा नेपाली गीत बजाउँछन्।
‘ब्यानर पनि मार्करले लेखेर बनाउँछु’ उनले भने, ‘नेपालीहरूले नेपाली खाना, नेपाली कलाकार, नेपाली पोसाक, नेपाली बाजा मन पराऊन् भन्ने मेरो सोच हो। हाम्रा चिज हामीले नै प्रचार गर्ने हो, अरुले गरिदिँदैन।’
यो कामले कलाकारितालाई पनि धेरै सहयोग पुग्ने उनी बताउँछन्।
‘मेला तथा भिडभाडमा धेरै मान्छे भेटेर अब्जर्भ गर्न पाइन्छ। एउटा कलाकारले जति अब्जर्भ गर्न सक्यो त्यति अभिनय सुधारिन्छ’ रिजेनले भने।
‘वेर नेपाली बि नेपाली’ (नेपाली लगाऊ, नेपाली बन) भन्ने नारासहित हिँडेका उनी नेपाली सामान सबभन्दा पहिले नेपालीले नै प्रयोग गर्नुपर्ने बताउँछन्।
‘सधै नेपाली कपडा लगाउन नमिल्ला। तर २० वटा भारतीय, चिनियाँ कपडा किन्दा दुई वटा त नेपाली किन्न सकिन्छ नि’ उनले भने ‘विदेसीले लाऊन् भन्नलाई आफूले पनि त लाउनुपर्यो। के कम छन् र हाम्रा उत्पादन। स्टाइलिस छ, सजिलो छ र सस्तो पनि छ।’
उनले ५ सयदेखि २ हजार रुपैयाँसम्मका कपडा बेच्छन्। मेलामा जाँदा दैनिक ५–७ हजार कमाइ हुने उनी बताउँछन्।
तर अचेल उनी कमाइभन्दा ‘वेर नेपाली बि नेपाली’ अभियान सफल गराउन लागेको बताउँछन्।
बीसभन्दा धेरै म्युजिक भिडियोमा काम गरिसकेका उनले कतिपय भिडियोमा यस्तै कपडा लगाएका छन्। टिभीमा पनि आफ्नो अभियान प्रचार गरिरहन्छन्।
‘कलाकारहरू कसैको बुटिक छ, कसैको रेष्टुरेन्ट। म नेपाली कपडा बेच्छु। मलाई यसमा गर्व छ। यसबाट पैसा सँगसँगै आत्मसन्तुष्टि मिलेको छ’ उनले भने।
कुनैबेला ‘केटाकेटी’ देखिएर फिल्म खेल्न नपाएका उनी यो वर्ष डेब्यु गर्दैछन्। ठूलो पर्दामा काम गरे पनि कपडा बेच्न नछोड्ने उनको सोच छ।
‘मेरो त रगतमै व्यापार रहेछ जस्तो लाग्छ अब त। मेरो व्यापार सामाजिक अभियानसँग जोडेको हुँ। भोलिका दिनमा म व्यस्त भएर समय दिन नसके, मान्छे राखेर भए पनि काम छोड्दिनँ,’ उनले भने, ‘बरु यसलाई अझ फैलाउन आफ्नै डिजाइनका बनाएर अनलाइनबाट पनि अर्डर लिने योजना
उनी नेपाली कपडालाई ‘ब्रान्डिङ’ गर्न चाहन्छन्।
भन्छन्, ‘मैले बेच्ने नेपाली कपडा थुप्रै देस पुगिसकेका होलान्। तर तिनको ब्रान्ड नभएर नेपालको हो भन्ने थाहा नहोला। त्यसैले म नेपाली कपडा पनि ब्रान्डिङ गर्न चाहन्छु। सबैले चिनून् भन्ने चाहन्छु।’
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी