दूध, प्रशोधित पानी तथा तेलसम्मका पेय पदार्थ दुषित भेटिएपछि डेढ दर्जन उद्योगविरुद्ध मुद्दा दायर भएको छ।
दुषित तथा न्यून गुणस्तरको उत्पादन भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा ति उद्योगविरुद्ध मुद्दा दायर गरेको हो।
४ वटा दूग्ध उद्योग, ७ वटा पानी प्रशोधन उद्योग, ६ वटा खाने तेल प्रशोधन उद्योगविरुद्ध मुद्दा दायर भएको छ। तिमध्ये केही उद्योगको दुई वा सोभन्दा बढी उत्पादन सेवन गर्न अयोग्य पाइएको छ।
यसरी मुद्दा दायर हुनेमा सरकारी स्वामित्वको डिडिसीसहितका उद्योगहरु परेका छन्। डिडिसीको दही दुषित रहेको पाइएपछि फागुन ३० गते उद्योगबिरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा हालिएको विभागले जनाएको छ।
यसअघि पनि डिडिसीको हरियो प्याकेटको दूध गन्हाएको भनी विभागमा उजुरी परेको थियो। उजुरीलगत्तै विभागले गरेको अध्ययनका क्रममा दूध खान अयोग्य भेटिएको थियो। त्यसविरुद्ध पनि विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो।
विभागले नमुना परीक्षण गर्दा सेवन गर्न अयोग्य भेटेर मुद्दा दायर गरे पनि उत्पादन जारी हुने हुँदा यसले सर्वसाधारणको स्वास्थ्यमाथि भने खेलबाड हुने गरेको सम्बद्ध विज्ञहरु बताउँछन्।
तर विभाग भने कुनै निश्चित समूहको उत्पादन दुषित हुँदैमा उद्योगका सबै उत्पादन बन्द गर्न नमिल्ने बताउँछ। ‘कुनै निश्चत ब्याचको उत्पादन दुषित भेटिँदा अर्को ब्याचको उत्पादन सही हुन सक्छ, त्यसकारण उत्पादन नै बन्द गर्न मिल्दैन।’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने।
डिडिसीबाहेक मकवानपुरको नारायणी मिल्क एण्ड प्रालिको दूध र दही दुषित भेटिएको विभागले जनाएको छ। कम्पनीको दूध र दही सेवन गर्न अयोग्य भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कम्पनीविरुद्ध मुद्दा दायर भएको छ। सो उद्योगले म्याद नाघेको अन्य खाद्य पदार्थ समेत बेचेको पाइएको विभागले जनाएको छ।
कतिपयमा उजुरी तथा गुनासापछि अनुगमन गरिने र केहीमा प्रत्यक्ष अनुगमन हुँदा विभिन्न कैफियत भेटिएको वस्तीले बताए। ‘उजुरी वा गुनासो आएपछि हामी अध्ययन गर्छौँ नै, गुनासा नआउँदा पनि अनुगमन भएको हुन्छ’ उनले भने।
त्यस्तै चन्द्रागिरी डेरी उद्योग काठमाडौंबाट प्रशोधित दूध र दिव्या डेरी मकवानपुरको मख्खन दुषित पाइएपछि सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर भएको छ।
पानीका ७ उद्योगविरुद्ध मुद्दा दायरजार तथा बोत्तल पानी दुषित भेटिएपछि विभागले प्रशोधित ७ उद्योगविरुद्ध विभागले मुद्दा दायर गरेको छ।
यसरी दुषित पानी भेटिएका उद्योगहरुमा जिएस वाटर उद्योग काभ्रे, पशुपति स्प्रिङ वाटर उद्योग काठमाडौं, नेचुरल ड्रिङ्किङ वाटर प्रालि भक्तपुर, स्प्रिङ मिनरल वाटर अफ मातातीर्थ काठमाडौं, यती बेभरेज काभ्रे, काक्रेविहार वाटर एण्ड फूड सुर्खेत र मध्यपश्चिम वाटर एण्ड बेभरेज सुर्खेतविरुद्ध मुद्दा दायर भएको छ।
खाने तेल पनि छैन शुद्धदूध र पानी मात्रै होइन, विभिन्न तेल उत्पादन तथा प्रशोधन उद्योगका उत्पादन पनि न्यून गुणस्तरका तथा दुषित पाइएको छ।
कुसुम आयल इण्डस्ट्रिज बाराबाट उत्पादित पामोलिन र सोयाबिन तेलमा न्यून गुणस्तर पाइएपछि जिल्ला प्रशासन कार्यालयमा विभागले मुद्दा दायर गरेको छ।
त्यस्तै बारा जिल्लाका एग्रो प्रोसेसिङको सूर्यमुखी र तोरीको तेल न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ। अन्नपूर्ण भेजिटेबल प्रोडक्टको सूर्यमुखी तेल, नन्दन घ्यू एण्ड आयलको बनस्पति घ्यु, हनुमान आधुनिक खाद्य तेल उद्योग, गणपति बनस्पति उद्योगबाट उत्पादित तेलमा पनि न्यून गुणस्तर भेटिएपछि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा परेको छ।