प्रत्यक्ष उत्पादनमूलक क्षेत्रका कम्पनीहरुलाई प्राथमिक सेयर निश्कासनमा सहजता दिएसँगै शिवम् सिमेन्टले ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ।
उत्पादनमूलक क्षेत्रका कम्पनीले पनि अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँमा प्रिमियम रकम थपेर आइपिओ जारी गर्न पाउनेगरी धितोपत्र बोर्डले यसअघि सहजता प्रदान गरेको छ।
धितोपत्र निश्कासन निर्देशिका २०७४ ले कुल पुँजीमा न्यूनतम १० प्रतिशत सेयर मात्रै सर्वसाधारणलाई जारी गर्न सक्ने व्यवस्था गरेको छ। जवकि बैंक तथा वित्तीय संस्थाहरुले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको हुनुपर्नेछ।
यिनै व्यवस्थापछि प्रत्यक्ष उत्पादनमूलक क्षेत्रका तर्फबाट शिवम् सिमेन्टले पहिलो पटक प्रिमियम रकम थपेर आइपिओ जारी गर्न लागेको हो।
प्रिमियम रकम कति हुने भन्ने सम्वन्धमा भने धितोपत्र बोर्डको प्रतिक्रियापछि मात्रै स्पष्ट हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिम्सिनाले जानकारी दिए।
‘नयाँ निर्देशिकापछि रियल सेक्टरमा पहिलो पटक शिवम्ले आइपिओ जारी गर्दैछ’ उनले भने ‘प्रिमियममा कम्पनीले प्रस्ताव गरेको मूल्यभन्दा पनि बोर्डको प्रतिक्रियापछि मात्रै निर्णय हुनेछ।’
कम्पनीले सेयर निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। ५२ लाख ८० हजार कित्ता सेयरमध्ये ८ लाख ८० हजार कित्ता स्थानीय प्रभावितका लागि र ४४ लाख कित्ता सर्वसाधारणका लागि जारी हुने क्यापिटलले जनाएको छ।
उत्पादनमूलक उद्योगहरुलाई दिएको सहुलियतपछि अन्य उद्योगले पनि सर्वसाधारणलाई आइपिओ जारी गर्ने बोर्डले विश्वास लिएको सहप्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए।
‘रियल सेक्टरका अन्य उद्योगलाई पनि पव्लिकमा जान हामीले प्रोत्साहन गर्ने उद्देश्यले नै धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ मा प्रिमियम मूल्य लगायतका कुरामा सहुलियत दिइएका हौँ’ घिमिरेले भने।
शिवम् उद्योगको कागजात अध्ययनका क्रममा आफूहरु रहेको उनले बताए। नयाँ निर्देशिका अनुसार कम्पनीहरुले कुल पुँजीमा १० प्रतिशत मात्रै सर्वसाधारणका लागि सेयर जारी गर्न सक्ने भए पनि शिवम्ले १२ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो। कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रहेको छ।
उद्योगको क्षमता प्रतिदिन ३ हजार टन रहेको प्रमुख वित्तीय अधिकृत ज्योति थापाले जानकारी दिए। उद्योगले ४३ र ५३ ग्रेडमा ओपिसी उत्पादन गर्दै आएको छ। प्रिमियम मूल्यमा आइपिओ जारी हुन लागे पनि यसमा धितोपत्र बोर्डको राय समेत लिइने उद्योगले जनाएको छ।
देशमा ५० भन्दा बढी सिमेन्ट उद्योगहरु रहे पनि अन्यले भने प्राथमिक सेयर निश्कासनको प्रक्रिया अघि बढाएका छैनन्। अर्घाखाँची सिमेन्टले पनि सर्वसाधारणमा सेयर जारी गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।
सेयर बजारमा उत्पादनमूलक क्षेत्रको सहभागिता न्यून भएका बेला सिमेन्ट उद्योगबाट सेयर जारी गर्ने प्रक्रिया सुरु हुनु सकारात्मक रहेको घिमिरेले बताए।