नेपाल उद्योग वाणिज्य महासंघको खाली रहेको उपाध्यक्ष पदका लागि भोलि निर्वाचन हुने भएको छ। साधारणसभाबाट निर्वाचित जिल्ला–नगरतर्फका उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय तहको निर्वाचनमा राजनीतिक दलबाट प्रतिस्पर्धा गरेपछि महासंघले बर्खास्त गरेको थियो।
त्यसरी खाली हुन आएको उक्त पदका लागि फागुन २५ गतेका लागि निर्वाचन हुने मिति तोकिएपनि श्रेष्ठ निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालत गएका थिए। तर अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी नगरेपछि भोलि निर्वाचन हुने कार्यकारीणी समिति सदस्य प्रबलजंग पाण्डेले जानकारी दिए।
श्रेष्ठ गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेसँगै उनको पद खारेज भएको थियो।
भोलि हुने निर्वाचनमा यसअघि वरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधान र महासंघका कार्यकारिणी सदस्य निरक केसीबीच प्रतिस्पर्धा हुने छ।
जिल्ला तथा नगरका प्रतिनिधिलेमात्र मतदान गर्न पाउने उक्त निर्वाचन भोलि विहान ११ बजेदेखि सुरु हुने छ। महासंघको मुख्यालय टेकुमा हुने निर्वाचनको परिणाम पनि भोलि नै सार्वजनिक हुने छ।