भक्तपुर कमलबिनायकमा रहेको एउटा भवनमा होटल संचालन गर्नेभन्दै होटल यातु नामको कम्पनी दर्ता भयो। तीनजनाको लगानी रहनेगरी उक्त होटल संचालनमा आउने तयारी थियो। तर संचालकहरुबीच विवाद उत्पन्न हुँदा त्यही संरचनामा अर्को होटल चलाउने भन्दै कम्पनी दर्ता भएको छ।
होटल यातु संचालन गर्ने भन्दै २०७३ साल फागुन १५ गते कम्पनी रजिष्टारको कार्यालयमा होटल यातु प्राली दर्ता भयो। कम्पनीको दर्ता प्रमाणपत्रअनुसार होटलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार तथा होटल डे कोर्टयार्ड भक्तपुर र सरु महत सञ्चालक रहेका छन्।
उक्त होटलमा ताम्रकारको ५२ प्रतिशत सेयर छ भने सरु महत र होटल कोर्टियाडको ४८ प्रतिशत स्वामित्व रहेको छ। होटल कोर्टियाड महतको एकल स्वामित्वको कम्पनी हो।
तर त्यही भवन जव होटलको रुपमा तयार भयो तव गएको असोजमा कम्पनी रजिष्टारकै कार्यालयमा अर्को कम्पनीले प्रमाणपत्र पायो होटल याचु प्रालीको नामबाट। कार्यालयका अनुसार उक्त कम्पनी ताम्रकारको एकल स्वामित्वको हो।
होटल यतुकी एक साझेदार महत र उनका पति मणिबिक्रम शाहले उक्त कुरा भक्तपुर उद्योग वाणिज्य संघको स्मारीकामा होटल याचुको विज्ञापन आएपछिमात्र थाहा पाए।
‘हामीले होटलमा सरासर लगानी गरिरहेका थियौं होटल संचालनमा आउने भयो भनेर अन्य तयारी पनि गर्दै थियौं तर होटल यातु र याचुको विज्ञापन एउटै स्मारीकामा छापिएपछि धोका भएको थाहा पायौं’ शाह दम्पत्तिले भने।
ताम्रकारले छुट्टै कम्पनी बनाएर त्यसको वेबसाइट र फोन नम्बर राखेर प्रचारप्रसार पनि गरिरहेका छन्। तर होटल यतु प्राली पनि खारेज भएको छैन।
[caption id="attachment_138848" align="alignnone" width="825"]
हाेटल यचुकाे वेबसाइट[/caption]
उक्त भवन बनिरहेको जग्गा पनि ताम्राकारकै हो। प्रति महिना ४ लाख रुपैयाँ बुझाउनेगरी २० वर्षको लागि भाडामा लिने सहमति भएको शाह दम्पत्तिले जानकारी दिए।
हालसम्म होटलमा १ करोडभन्दा बढी लगानी गरिसकेको उनीहरुको भनाइ छ।
ताम्राकार भने शाह दम्पत्तिले होटलमा १५÷१६ लाखभन्दा बढी लगानी नगरेको बताउछन्। प्रति महिना २ लाख जग्गाको भाडा तिर्नुपर्ने सर्त बमोजिम कटाउँदा उक्त लागनी सकिएकोले आफूले अर्कै कम्पनी दर्ता गरेर होटल चलाउन लागेको ताम्राकारको भनाइ छ।
‘मैले राखेको कर्मचारीलाई पनि अस्वीकार गर्न उहाँले खोज्नुभयो’ ताम्रकारले भने,‘अनि मसँग साझेदारी गर्ने तर अर्कोतिर अर्कै होटल बनाउँदै हिड्नुभयो त्यसैले मैले आफ्नै नाममा होटल दर्ता गरेर ल्याए।’
ताम्रकारले शाह दम्पत्तिलाई लगानी गरेको प्रमाण देखाउन चुनौति दिए। आधिकारीकरुपमा पैसा लगानी गर्न र होटल चलाउन अहिले पनि आग्रह गरिरहेको ताम्राकारले बताए।
‘मैले उहाँहरुलाई लगानी गर्नुस तर व्यवस्थापन भने मेरै मान्छेले हेर्छ भनेको हुँ’ उनले भने।
उता शाह दम्पत्तिले भने आफूले कुरा गर्न खोज्दा जवाफ नदिएको र फोन नउठाउने, ब्लक गरिदिने गरेको आरोप लगाउछन्।
होटल निर्माणको लागि लगानी भएर संचालनमा आउनेबेला ताम्रकारले आफूहरुको पैसा हडपेर एकलौटी हिड्न थालेपछि कानूूनी उपचारको बाटोमा जाने सरु महतले जानकारी दिइन्।
[caption id="attachment_138847" align="alignnone" width="825"]
हाेटल युतकाे वेबसाइट[/caption]
‘सयुक्त लगानीको परियोजनामा ताम्राकारज्यूले एकलौटी गर्न खोज्नुभएको छ, हामीले यसमा रुपैयाँमात्र होइन एकवर्षदेखि समय पनि खर्चेका छौं’उनले भनिन्,‘हामीले यसबारेमा छलफल गर्न खोज्दा जे गर्न मन छ त्यही गर भन्नुभएको छ अब हामी चुप लागेर त बस्दैनौं।’
३२ कोठा, ३ रेष्टुरेन्ट र स्विमिङ पुल भएको होटलमा एउटा सभाहल पनि छ।