नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीबाट नेपाल भित्र्याइने चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०/३५ वटाको संख्यामा सीमापार गर्न थालेका छन्।
हालसम्म तीन सयदेखि चार सयसम्म मालबाहक सवारी साधन केरुङ क्षेत्रमा पुगिसकेको र सामान लोड हुने क्रम जारी रहेको उनले बताए।
उता केरुङ क्षेत्रमा सामान ढुवानी गर्ने सबैभन्दा ठूलो चिनियाँ मुसाटासपोर्टले भने नेपाल पठाउने सामग्री लोड गर्ने काम आज बिहानै देखि शुरु गरेको छ। लोड हुन थालेका ती सामग्रीमा कपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना लगायत रहेको बताइएको छ।
चिनियाँ नयाँ वर्ष र ल्होछार पर्वका कारण कामदार बिदामा जाँदा गत माघको अन्तिम साताबाट बन्द भएको ढुवानी सेवा अब नियमित शुरु भएको मुसाटासपोर्टले जनाएको छ। सामान आयात निर्यात नहुँदा सुनसान रहेको टिमुरे तथा रसुवागढी क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ। रासस