नेपाल विद्युत प्राधिकरण हिउँद सकिएर गर्मी याम सुरु हुनै लाग्दा विद्युत बचतको उपाय खोजीमा लागेको छ। उर्जा बचत गर्न प्राधिकरणले कम विद्युत खपत गर्ने सिलिङ पंखा र पानी तान्ने मोटर उत्पादक तथा वितरक कम्पनीलाई ती वस्तु बेच्न स्थान उपलब्ध गराउने भएको छ।
ती वस्तु विक्रीका लागि प्राधिकरणले देशभरीका शाखामा स्थान उपलब्ध गराउने भएको हो।
प्राधिकरणले ती स्थान निशूल्क रुपमा प्रदान गर्नेछ भने त्यसबाहेकका अन्य सबै खर्च विक्रेता स्वंयको हुने उल्लेख गरेको छ। यद्यपी प्राधिकरणले कम विद्युत खपत गर्ने ती वस्तुहरुको उपयोगिताको मह्त्वका बारेमा उपभोक्तालाई सचेत गराउन आफ्नै खर्चमा सन्देशमुलक कार्यक्रमहरु बनाउने जनाएको छ।
प्राधिकरणले यसका लागि सिलिङ पंखा र पानी तान्ने मोटर उत्पादक तथा वितरक कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ। प्राधिकरणले हाललाई एक वर्ष तथा आवश्यक परेमा नविकरण हुने गरी स्थान उपलब्ध गराइने प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणले यी दुई विद्युतिय सामाग्रीमा ३ वर्षको वारेन्टी दिइनुपर्ने सर्त राखेको छ। यसका साथै ती वस्तुको गुणस्तर तथा उर्जा खपतका बारेमा ल्याबबाट परिक्षण गरिएको हुनुपर्ने जनाएको छ।
सिलिङ पंखा र पानी तान्ने मोटर बढी विद्युत खपत गर्ने वस्तु हुन। पुराना प्रविधिका विद्युतिय वस्तुका विकल्पमा प्राधिकरणले कम उर्जा खपत गर्ने खालका साम्रागी उत्पादक तथा वितरकको खोजी गरेको हो।
प्राधिकरणले यो पक्रियाबाट तीन वटा कम्पनी छनोट गर्ने योजना बनाएको छ।