परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ।
कृषकले उन्नत जातका गाईभैंसी पाल्न थालेपछि परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको हो ।
कृषकले पछिल्लो समय दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका छन्। उत्पादन भएको दूध चिस्यान गरी सदरमुकाम र कैलालीका विभिन्न बजारमा बिक्रीका लागि पठाउने गरिएको छ। व्यावसायिक रुपमा गाईपालन गरी दूध बेचेर पर्याप्त आम्दानी गरिरहेको आलिताल गाउँपालिका कृषक पार्वती मडैले बताए।
उनले दैनिक २५ देखि ३० लिटर दूध बिक्रि गर्दै आएका छन्। मडैले १२ वटा गाई पालेका छन्। विभिन्न संघ संस्थाले व्यावसायिक रुपमा गाई–भैंसी पालनबारे अभिमुखिकरण तालिम दिने गरेका छन्। गाउँमै दुग्ध संकलन केन्द्र र चिस्यान घर सञ्चालनमा आएपछि कृषकलाई सहज भएको आलिताल गाउँपालिका–४ का कमलसिंह ऐडीले बताए।
“संकलन केन्द्र सञ्चालनमा आएसँगै स्थानीयवासी व्यावसायिक रुपमा गाईपालनतर्फ आकर्षित भएका छन्,” उनले भने। ऐडीले दैनिक करिब दुई हजार लिटर दूध कैलालीको खप्तड डेरीलाई बिक्री गर्दै आएका छन्।
आलिताल गाउँपालिकामा दुईवटा दुग्ध संकलन केन्द्र र चिस्यान घर रहेको छ। परशुराम नगरपालिकाले पनि गाउँगाउँबाट दूध संकलन गरिरहेको छ।
पछिल्लो समयमा दूध खपत नहुँदा कृषक निराश भएका छन्। उन्नत जातका जर्सी गाईपालन गरी कृषकले दूध बिक्रीबाट दैनिक पाँच सय रुपैयाँ देखि एक हजार पाँच सय रुपैयाँ आम्दानी गरिरहेका छन्।
आलिताल–३ का कृषक तारादेवी मडै मासिक दूध बिक्रीबाट ३० हजार रुपैयाँ देखि ४० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताए। रासस