गाई–भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ।
आव २०७२/७३ को तुलनामा आव २०७३/७४ मा जिल्लामा गाई–भैँसीमा कृत्रिम गर्भाधान २४ प्रतिशतले वृद्धि भएपछि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले जानकारी दिए।
जिल्लामा करिब सत्तरी हजार किसान पशुपालन व्यवसायमा संलग्न छन्। आव २०७३/७४ मा तीन अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको ६ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन भएको साहले बताए। दैनिक ९० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको छ।
उत्पादित मध्ये दैनिक ४० हजार लिटर दूध हेटौँडा, काठमाडौँ, पोखरा, विराटनगर र सप्तरीमा बिक्री हुँदै आएको छ। जिल्लाबाट दैनिक पाँच लाख रुपैयाँ मूल्य बराबरको १० हजार लिटर दूध भारतमा बिक्री हुन्छ।
जिल्लामा ६८ प्रतिशत किसान पशुपालन व्यवसायमा संलग्न रहेका छन् भने अघिल्लो आवमा तीन अर्ब १५ करोड २६ लाख ५० हजार रुपैयाँ बराबरको ६ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो।
कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रम अन्तर्गत गोठ निर्माण कार्यक्रम, दूध प्रशोधनका लागि सहकारी संस्थालाई चिलिम भ्याट, बायो ग्यास निर्माण, साइनो किट निर्माण, डेरी सुधार र घाँस बाली कार्यक्रमका लागि अनुदान दिन थालेपछि जिल्लामा यस वर्ष ३ दशमलब ६ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत साहले बताए।
चालीस वटा डेरी उद्योग रहेको जिल्लाको पूर्वी तथा दक्षिणी भेग गाई–भैंसी पाल्ने पकेट क्षेत्रका रुपमा चिनिन्छ। पशु प्रजनन (प्राकृतिक र कृत्रिम गर्भाधान), घाँस तथा पशु आहारा विकास, पशु स्वाथ्य सेवा र बजार प्रवर्धनलगायत सेवा प्रदान गर्दै आएको छ।
गाई–भैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादनमा वृद्धि गर्न जिल्ला पशु सेवा कार्यालयले सुदूर ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमा पशु सेवासम्बन्धी प्याकेज कार्यक्रम पुर्याउँदै आएको छ।
कार्यालयले आगामी कार्यक्रम अन्तर्गत सदरमुकाम कलैया वरिपरिको १० किलोमिटर क्षेत्रलाई दूधको शहरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ। रासस