तेस्रो मुलुकबाट हुने आयातमा अहिले अधिक उपयोगमा रहेको भारतको कोलकत्ताभन्दा बिशाखापटनम बन्दरगाहबाट ढुवानी लागत कम पर्ने देखिएको छ । यो बन्दरगाहबाट आयातमा कस्ट हाउस एजेण्ट आवश्यक नपर्ने भएपछि लागत तुलनात्मक न्यून हुने भएको हो ।
लागत प्रति कन्टेनर २५ हजार भारतीय रुपैयाँ कम भएछि विशाखापटनम पोर्ट राम्रो बिकल्प बनेको छ । कोलकाताबाट अहिले वीरगञ्ज सुक्खा बन्दरगाहसम्मको लागत प्रतिकण्टेनर १ लाख २५ हजार भारु पर्नेमा विशाखापटनमबाट १ लाख भारुमात्र पर्ने देखिएको छ । यो बन्दरगाहबाट आउँदा प्रतिकण्टेनर २ सय ५० अमेरिकी डलर बराबरको समुन्द्री भाडामासमेत बचत हुने विशाखा बन्दरगाह सञ्चालक विशाखा कण्टेनर टर्मिनलका बरिष्ठ महाप्रबन्धक भी. कल्याण चक्रवर्तीले जानकारी दिए।
विशाखापटनम बन्दरगाहबाट नेपालका लागि मालसामान ढुवानी गर्दै आएका सिपिङ कम्पनीले नै बन्दरगाहमा कागजी प्रक्रिया पूरा गर्न थालेपछि विशाखापटनम तुलनात्मक सस्तो पर्न गएको हो ।
हाल यो बन्दरगाहमार्फत् मक्र्स लाइन, बीएलपीएल, अष्टियर लजेष्टिक र पोर्ट ट्रेड सिपिङ एण्ड लजेष्टिकले तेस्रो मुलुकबाट नेपालका लागि कण्टनेर ढुवानी गरिरहेका छन् । वरिष्ठ महाप्रबन्धक चक्रवर्तीले नेपालका सिपिङ एजेन्सीहरूले बन्दरगाह सम्पूर्ण प्रक्रियासमेतको जिम्मा लिएको बताए ।
कोलकाता बन्दरगाहबाट हुने व्यापारमा मध्यस्थकर्ता र कस्टम हाउस एजेण्टले मनोमानीरुपमा रकम लिने गरेकाले कारोबार खर्च अस्वाभाविकरुपमा बढेको गुनासो आयातकर्ताले गर्दै आएका छन्।
विशाखा टर्मिनलका जनसम्पर्क अधिकृत एमएन रावले व्यापारमा नेपालको आयात खर्च घटाउने उद्देश्यले बन्दरगाहमा सिपिङ एजेन्सीले नै आयातकर्ताका काजगपत्रको जिम्मा लिने गरेको बताए ।
अहिले सिपिङ कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाहसम्मै बिल अफ लोडिङ दिने गरेका छन् । विशाखापटनममा कण्टेनर अनलोड भएको ५ दिनभित्र कण्टेनर वीरगञ्ज पुग्ने र त्यहाँबाट आयातकर्ताले ५ दिनको समय पाउने भएकाले विलम्ब शुल्क नलाग्ने टर्मिनलका अधिकारीहरूको दाबी छ ।
यो बन्दरगाहमा मदर भेसल्स (ठूला पानीजहाज) सोझै आउन सक्छन् । यो बन्दरगाहले वार्षिक ७ लाख कण्टेनर हेण्डेलिङ गर्न सक्छ । विशाखा टर्मिनलले सन् २०२० भित्र क्षमता बढाएर १० लाख पु¥याउने योजना बनाएको छ ।यो बन्दरगाह समुन्द्रसँग जोडिएकाले ठूला पानी जाहाज आउन सक्छन् । यो सुविधा कोलकाता बन्दरगाहमा छैन । कोलकाता समुद्रवाट नहर बनाएर ल्याइएकाले साना पानी जहाजमामात्र मालसामान आउन सक्छन् । यसका लागि सिंगापुर र कोलम्बोमा सना जहाजमा कण्टेनर राखेर कोलकातासम्म ल्याउने गरिएको छ ।