सरकारले चियाको उत्पादन, प्रशोधन र बजारीकरणलाई वृद्धि गर्ने उद्देश्यका साथ चिया गणना कार्यक्रम–२०७४ संचालनमा ल्याएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले केन्द्रिय तथ्यांक विभागको सहयोगमा चिया गणना कार्यक्रम सुरू गरेको हो। ४० जना चियाका गणकहरुलाई नियुक्ती गरेर देशभर चिया गणना कार्यक्रम संचालन गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए। उनले चियाको उत्पादन, प्रशोधन र बजारीकरण वृद्धि गर्ने उद्देश्यका साथ यसको यथार्थपरक तथ्यांक संकलन गर्न चिया गणना कार्यक्रम संचालन गर्नु परेको पनि स्पष्ट पारे।
नेपालमा उत्पादन भएका चियाको माग विश्व बजारमा बढदै गएको छ। सोही माग धान्ने गरी उत्पादन बढाउन सरकारले चिया गणना कार्यक्रमलाई अध्यावधिक गरेको हो। गणकहरुले चियाको उत्पादन र त्यसले दिएको रोजगारीलगायतका तथ्यांक पनि संकलन गर्नेछन। ९० प्रतिशत नेपाली चिया भारतमा निर्यात हुने गरेको छ। त्यसैगरी तेस्रो मुलुकमा पनि नेपाली चियाको निर्यात हुने गरेको छ। विश्व बजारमा नेपाली चियाको माग बढदै गएकाले सोही मागलाई धान्ने गरी उत्पादन बढाउन पनि चिया गणना कार्यक्रम सहयोगी हुने बोर्डका कार्यकारी निर्देशक गौतमले बताए।
चिया गणनाले चियाको भावी नीति तथा योजना तर्जुमा गर्न पनि सहयोग पुग्ने बोर्डको भनाई छ। चिया उत्पादन बढाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि गणनाले महत्वपूर्ण योगदान दिने कार्यकारी निर्देशक गौतमले बताए।
नेपालका वार्षिक ५० लाख केजी चिया उत्पादन हुने गरेको छ। जसमध्ये ९० प्रतिशत भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्याय हुने गरेको पनि चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ। बोर्डले नेपालबाट वार्षिक ३ अरव बराबरको चिया निर्यात हुने गरेको पनि स्पष्ट पारेको छ। चियाको उत्पादनबाट नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि गरिएको छ।
https://www.youtube.com/watch?v=6sLTvDFM8fY