स्वदेशीभन्दा आयातित चिनी सस्तो पर्न थालेपछि उद्योगीहरुले ५० प्रतिशत भन्सार शुल्क लगाउन माग गरेका छन्। हाल चिनीमा १५ प्रतिशत भन्सार शुल्क लगाइँदै आएको छ। यसलाई नबढाएसम्म स्वदेशी चिनी बेच्न नसक्ने उद्योगीहरुको भनाइ छ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले आयातित चिनीमा भन्सार महशुल वृद्धि गर्दा उपभोक्ता मूल्यमा कुनै असर नपर्ने दावी समेत गरे। स्वदेशी चिनी उद्योगमा गम्भिर असर पर्नेगरी आयात हुँदा समेत कुनै चासो नदिएको उनको गुनासो छ।
अन्तर्राष्ट्रियस्तरमा मूल्य घटेपछि नेपालमा आयातित चिनीको मूल्य हाल ८० रुपैयाँको हाराहारीमा पर्ने गरेको छ। यो साल्ट ट्रेडिङ कर्पाेरेसनले तोकेभन्दा पनि सस्तो हो। साल्ट ट्रेडिङले हाल उपत्यकामा बेच्ने चिनीको मूल्य प्रतिकेजी ८२ रुपैयाँ छ।
नेपालमा पाकिस्तानबाट सस्तो चिनी आयात हुन थालेको व्यवसायीहरु बताउँछन्। सुगर मिल्स एसोसिएसनका महासचिव राजेश केडियाले चिनी उत्पादनमा आफूहरुको लागतभन्दा आयातित सस्तो भएपछि गोदममै थन्क्याउन बाध्य भएको बताए।
‘उत्पादनमा हाम्रो लागतभन्दा बाहिरबाट आउने चिनीको मूल्य सस्तो पर्न थाल्यो, जसले गर्दा स्वदेशी उत्पादन गोदाममै थन्क्याउन बाध्य छौँ’ केडियाले भने।
अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तिएपछि भारतले समेत भन्सार महसुल बढाएको बताउँदै उद्योगीहरुले नेपालमा कम्तीमा ५० प्रतिशत भन्सार शुल्क लगाउनुपर्ने माग गरेका छन्।
उद्योगीका अनुसार कतिपय व्यवसायीले पाकिस्तानबाट चिनी आयात गर्न थालेका छन्। पाकिस्तानमा उत्पादित चिनी यहाँ ल्याउँदा ६० रुपैयाँ पर्ने गरेकाले व्यवसायीहरु यसतर्फ आकर्षित भएको उद्योगीहरुको भनाइ छ।
उखुको उच्च मूल्य, विद्युत आपूर्तिको समस्या लगायतका कारणले चिनी उत्पादनको लागत उच्च भएको उद्योगीको भनाई छ।
यदी भन्सार शुल्क नबढाउने हो भने उद्योगीलाई प्रतिकेजी १० रुपैयाँ नगद अनुदान दिनुपर्ने उनीहरुको माग छ। ‘हामीले उत्पादन गरेको चिनी सरकारले नै खरिद गरिदिनुपर्यो, अहिलेको बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सकिँदैन’ केडियाले भने।
नेपालमा वार्षिक २ लाख २५ हजार मेट्रिक टन चिनी खपत हुने गरेको तथ्याङ्क छ। जसमा १ लाख ७५ हजार मेट्रिक टन स्वदेशी चिनीको खपत हुने गरेको छ। बाँकी ५० हजार मेट्रिक टन चिनी आयात भइसकेको उद्योगीहरुले बताएका छन्।
उखु उत्पादक किसानहरुले भने अहिले कायमभन्दा सस्तो मूल्य बिक्री गर्न नसकिने बताएका छन्। उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले सरकारले मल तथा अन्य सहुलियत नदिएसम्म उखुको मूल्य घटाएर बेच्न नसकिने बताए।
हाल उखुको मूल्य प्रतिक्वीन्टल ५३१ रुपैयाँ २० पैसा तोकिएको छ। अहिले तोकिएको मूल्यबाट समेत आफूहरुले लाभ लिन नसकेको किसानको गुनासो छ। यस वर्ष नेपालमा १ लाख बिघा जमिनमा उखु खेती गरिएको र यसबाट २० लाख मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।