व्यवसायमा रहेका र उद्यमशीलताप्रति आकर्षित युवाहरूलाई लक्षित गरेर महिला युवा उद्यमशीलता सम्मलेन काठमाडौंमा सुरु भएको छ।
कनेक्ट, कोलाबोरेट, क्रियट भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा १५० भन्दा बढीको सहभागिता रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघको युवा उद्यमी मञ्च भित्रकै महिला उद्यमी मञ्चले आयोजना गरेको सम्मेलनमा फरक कोणबाट सेवा तथा उत्पादनको क्षेत्रमा सफलता पाइरहेकाहरूलाई एकै ठाउँमा बोलाएर अनुभव, योजना र व्यवसायिक साझेदारी साटासाट हुने मंचकी अध्यक्ष जुना माथेमाले जानकारी दिइन्।
सम्मेलनमा विभिन्न क्षेत्रका व्यवसायमा सफल उद्यमीहरुको प्रस्तुती, प्यानल डिस्कसन हुने छ।
सम्मेलनमा सहभागीहरु एकआपसमा भित्र रहेको उद्दमशिलता, व्यवसायिक क्षमता प्रष्टफुटन गर्ने सामुहिक थलो भएको आयोजक प्रश्ना बस्नेतले बताइन्।
‘जसले आफ्नो व्यवसायिकक रियरमा भोगेका क्षणहरु, पाएका सफलताबाट हामीलाई उत्प्रेरणा दिनेछन्’ उनले भनिन्,‘उनीहरुको सफलतामात्र होइन उद्दमशिलताको यात्रामा आवस्यक सीप, क्षमता, चाल्नुपर्ने कदम र आत्मविश्वस हामीले पाउने छौं।’
अघिल्ला समिटबाट लाभान्वित भएर सफल भएका थुप्रै उदाहरण भएकाले उत्साहित भएर समिटलाई निरन्तरता दिइएको आयोजकको भनाइ छ।
अघिल्लो वर्षको समिटमा सहभागी अनुजा राजभण्डारी समिटमा सहभागी भएर व्यवसायमा निकै सहयोग पुगेको बताउँछिन्।
सम्मलेनमा एकअर्कासँग सम्बन्धी व्यवसायका मान्छेहरू भेट हुने हुँदा त्यसबाट नेटवर्क फोरम उपलब्ध हुने उनको बुझाइ छ।
‘एकादेशमा’ ब्रान्डका कपडा उत्पादन गर्ने उनले उक्त समिटबाट पाएको नेटवर्कबाट विदेशमा समेत व्यवसाय विस्तार गर्ने मौका पाएको बताइन्।
‘म त्यो समिटमा सहभागी भएपछि नेपालमै पनि धेरै सहकार्यका मौका पाए’ उनले अनुभव सुनाउँदै भनिन्,‘मैले अष्ट्रेलियामा समेत फेसन शो गर्ने मौका त्यहीबाट पाए।’