नेपाल टेलिकमले पूर्वाञ्चलका आठ जिल्लामा भिस्याट प्रविधिलाई प्रतिस्थापन गर्दै माइक्रोवेभमार्फत जिएसएम मोबाइल सेवा उपलव्ध गराएको छ।
पुरानो प्रविधिमा भ्वाइस सेवा मात्र उपलब्ध भइरहेकोमा अब नयाँ प्रविधिमार्फत मोबाइलमा भ्वाइस र डाटा दुवै सेवा उपलब्ध हुनेछ।
सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बिटिएस स्थापना गरी माइक्रोवेभ प्रविधिमा सेवा थालिएको कम्पनीले जनाएको छ।
सोलुखुम्बुको गुदेल, ताप्लेजुङको लेलेप, ओखलढुङ्गाको निसंखे र उदयपुरको खसिबासमा माइक्रोवेभ प्रविधिमार्फत सेवा सञ्चालन गरिएको छ। त्यसैगरी सोलुखुम्बूको खरीखोला, जुनीबेसी र छेसक्याममा पहिले भिस्याटमार्फत सेवा सञ्चालन भइरहेकोमा हाल माइक्रोवेभमार्फत नयाँ प्रविधिमा जिएसएम सेवा सञ्चालन गरिएको छ।
टेलिकमका अनुसार झापाको भद्रपुर १, दमक नगरपालिका, लखनपुर र मेचीनगर, मोरङको दुलारी, सुन्दरपुर, उर्लाबारी ४ र ५, बेलवारी १, २ र ३ मा माइक्रोवेभमार्फत नयाँ प्रविधिमा जिएसएम सेवा थालिएको छ।
सप्तरीको अर्नाहा १ र इनर्वा फुलबारिया १, सुनसरीको हासपोसा, इनरुवा नगरपालिका, इटहरी र महेन्द्रनगर तथा उदयपुरको सिद्धिपुर १ र त्रियुगा ५ मा हालै माइक्रोवेभ मार्फत नयाँ प्रविधिमा जिएसएम सेवा सञ्चालनमा ल्याइएको छ।
अब ती स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटामार्फत विभिन्न वेबसाइट चलाउन तथा देश विदेशमा भएका आफन्तहरुसँग भिडियो कल समेत गर्न सकिने छ।