साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ।
गत बिहीबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।
नप्से २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने बढेको छ।
बिहीबार सात अर्ब आठ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार आठ अर्ब ५० करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४२ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०९ वटा धितोपत्रको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ वटाको घटेको छ। यस्तै, एउटा कम्पनी स्थिर रहेको छ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९९ रूपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, छ्याङ्दी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३१८ रूपैयाँ कायम भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ९.७८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८९५ रूपैयाँमा झरेको छ।
यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ७.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार २४ रूपैयाँ कायम भएको छ।
आइतबार नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता एक हजार २९७ रूपैयाँमा ७० करोड ३७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.५२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९७३ रूपैयाँमा ५१ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशतले बढेको छ।
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले घटेको छ।