एक जलविद्युत कम्पनीले हालै मात्र प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणमा नाफा रकम ७.८१ गुणा अर्थात् ६ सय ८१ प्रतिशतले बढेको देखियो।
गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा सो कम्पनीको चार करोड ४८ लाख रूपैयाँ नाफा रहेकोमा चालु आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा नाफा ३५ करोड रूपैयाँ पुगेको छ।
सेयर लगायतका लगानीमा भइरहेको कागजी नाफा जोडिएको कारण पनि कम्पनीको नाफा उच्चले बढेको हो।
सेयर लगायतको लगानीमा कम्पनीलाई यो त्रैमाससम्म २२ करोड ४४ लाख रूपैयाँसम्म कागजी नाफा भएको हो।
यस्तो नाफा जोड्न मिल्छ?
यस्तो कागजी नाफालाई लेखानीति अनुसार जोड्न सकिने अन्तर्राष्ट्रिय अभ्यास नै छ। नेपालले पनि यो अभ्यास अनुसार नै लेखा नीति बनाएको छ, जसलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) भनिएको छ।
कम्पनीहरूले आफूले गरेको लगानीलाई छुट्याएको हुनुपर्छ। तत्काल बिक्री गर्ने मनसाय भएको लगानी र केही समयपछि वा दीर्घकालीन सोचका साथ गरिएको लगानी भनेर छुट्याइन्छ।
अल्पकालमै बिक्री गर्ने मनसायले गरिएको लगानीलाई नाफा नोक्सान विवरणमा देखाउँछन्। उदाहरणको लागि यस्तो मनसायले कुनै कम्पनीको सेयर एक सय रूपैयाँमा किनिएको छ। त्यसको मूल्य बढेर एक सय २० रूपैयाँ पुग्यो। यसरी बढेको २० रूपैयाँ नाफा नोक्सान विवरणमा जोडिन्छ। पूरै लगानी रकम भने देखाइँदैन। घाटा भएमा पनि घाटा भएको रकम सो विवरण नाफा नोक्सान हिसाबमा देखाइन्छ।
यस्तो घटबढको रकमलाई फेयर भ्यालु थ्रु प्रोफिट अर लस (एफभिटिपिएल) भनिन्छ। वित्तीय विवरणमा यही भनेर देखाइएको हुन्छ।
नाफा कमाउन भनेर यस्तो यस्तो लगानी भएको छ भनेर देखाउन पनि यस्तो रकमलाई नाफा घाटाकै विवरणमा देखाइएको हुन्छ।
'तर, कम्पनीहरूले वित्तीय विवरणहरू प्रकाशित गर्दा एकपटक यो शीर्षकमा राखेको लगानीलाई सधै त्यही शीर्षकमा राख्नुपर्छ,' चार्टर्ड एकाउन्टेन्ट अरुण राउत बताउँछन्।
नाफा हुँदा देखाउने र घाटा हुँदा अन्यत्र शीर्षकमा राख्न भने पाइदैन। यस्तो गर्दा लगानीकर्ता झन् भ्रममा पर्न सक्छन् भन्ने हो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो फेयर भ्यालु थ्रु प्रोफिट अर लस अनुसार भएको नाफालाई सञ्चिति मुनाफा खाताबाट घटाएर छुट्टै नियमनकारी कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ।
यो रकमको आधारमा लाभांश दिन नपाइने व्यवस्था समेत नियामकहरूले गरेका छन्।
यस्तो लगानीमा घाटा भएमा भने सञ्चित खातामै फिर्ता गर्न सकिने व्यवस्था गरेको छ।
त्यस्तै, दीर्घकालीन सोच सहित गरिएको सेयर लगानीलाई वित्तीय विवरणकै अर्को शीर्षकमा अलग्याएर राखिएको हुन्छ।
जसलाई फेयर भ्यालु थ्रु अदर कम्प्रिहेन्सिभ इनकम (एफभिटिओसिआई) पनि भनिन्छ। यो शीर्षकमा रहेको रकम नाफामा जोडिदैन।
त्यसैले सेयर लगानीकर्ताले फेरिएको यो लेखानीति नबुझी सेयर लगानी निर्णय लिनु हुँदैन।