क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २२ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशत २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यसका साथै कम्पनीका कर्मचारीहरूका लागि ३ प्रतिशत अर्थात् ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई ५ प्रतिशत १ लाख १२ हजार ५०० कित्ता साधारण सेयर पनि बाँडफाँट गरिसकेको छ।
त्यस्तै, १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ७ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको जनाउँछ।