नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरेको छ।
यसै अन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरू गरेको छ।
सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरिएको हो।
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु)सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममा उद्यमी बन्न चाहने २० जनाले सहभागिता जनाएका छन्।
नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका, तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्ग निर्देशन प्रदान गर्ने उद्देश्य राखेर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि नबिल एसएसईले तीन समूहलाई उद्यमशीलता सम्बन्धित तालिम प्रदान गरिसकेको छ।
चौथो चरणको फेलोसिप कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंक केबल निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित रहँदै आएकोमा क्रमशः दायरा विस्तार गरेको बताए।
उनले नबिल बैंक समाजमा उद्यमशीलता विकासमा अग्रसर भएको प्रतिक्रिया दिए।
अध्यक्ष पौडेलले नबिलले दिगो बैंकिङको अवधारणाअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ भन्ने सोचका साथ यस्ता कार्यक्रम सञ्चालन गरेको बताए।
नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई सधैँ उत्कृष्ट प्लेटफर्म नबिलले प्रदान गर्दै आएको बताए।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहयोग लिएर पनि बैंकले उद्यमशीलता क्षेत्रमा काम गरिरहेको स्मरण गराए। यस फेलोसिपमा सहभागीहरूलाई आवश्यक सबै प्रकारका सल्लाह परामर्श प्रदान गरिने उनले बताए।
नबिल बैंकका सञ्चालक चौधरीले फेलोसिप कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्न थालेको भन्दै आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए।
'नबिलले सञ्चालन गरेको नबिल एसएसई कार्यक्रममा समाजमा निकै सकारात्मक प्रभाव पारेको हामीले महसुस गरेका छौँ, तपाईँहरूसँग अहिले राम्रो पूर्वाधार नहुन सक्छ। तर, यसका लागि उचित सल्लाह र परामर्शको खोजीमा हुनुहुन्छ भने यो प्लेटफर्म एकदमै उपयोगी हुनेछ,' चौधरीले भने।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको बताए।
उनले 'हामीले के गर्यौँ?' भन्ने प्रश्नमा गर्वका साथ जवाफ दिन सकिने गरी यो कार्यक्रमको प्रभाव परेको उनको प्रतिक्रिया छ।
फेलोसिप कार्यक्रममा सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन–बेस्ड आवासीय तालिम लिने, एक वर्षसम्मको परामर्श सेवासमेत उपलब्ध गराइने जानकारी दिइएको छ।
तीन महिनाको नबिल एसएसई सर्टिफिकेट कोर्सले सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्दै आएको ज्ञवालीले बताए।
उनका अनुसार तालिम अवधिभर सहभागीहरूले आफ्नो उत्पादनको ब्रान्डिङ, मार्केटिङ र बैंकिङका विधिहरू सिक्नेछन्।
फेलोसिपका २० सहभागीमध्ये ११ जना महिला छन्। सहभागीहरू काठमाडौंका ८, ललितपुरका ३, भक्तपुरका ३ र खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका ६ जना रहेका छन्।
सहभागीहरूले पर्यावरणमैत्री व्यवसायजस्तै केराको फाइबरबाट कपडा निर्माण, प्राकृतिक जडिबुटीबाट सौन्दर्य सामग्री उत्पादन, र विभिन्न डिजाइनका मैनबत्ती उत्पादन गरिरहेका छन्।
इन्जिनियरिङ र आयुर्वेद अध्ययन गरेर व्यवसाय सुरू गरेका उद्यमीहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ।
कृषि उत्पादन, गहनाको निर्माण, डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम, र इ–लर्निङ प्लेटफर्मको विकासमा सहभागीहरूको लक्ष्य रहेको बैंकले जनाएको छ।
बैंकले सहभागी छनोटका लागि लामो प्रक्रिया अपनाएको थियो। साउनमा खुलेको सयौं आवेदकहरु मध्ये सम्भावना र काम गर्ने अठोट भएका व्यक्तिहरूलाई मात्र छनोट गरिएको हो।
चौथो कोहर्टका सहभागीहरूले कार्यक्रममा आफ्ना उत्पादन प्रदर्शन गरेका छन्।
उनीहरूले आफ्ना उत्पादनलाई दिगो बनाउने र विस्तार गर्ने तरिकाबारे विज्ञहरूसँग सल्लाह लिनका लागि कार्यक्रममा सहभागिता जनाएको प्रतिक्रिया दिए ।
नबिल एसएसई कार्यक्रम मार्फत हालसम्म ५६ जना सामाजिक उद्यमीलाई प्रशिक्षित गरिएको छ। तीमध्ये ४५ वटा उद्यम स्थापना भइसकेको नबिलले जनाएको छ।
त्यस्तै एक हजार २०० भन्दा धेरैलाई रोजगारी उपलब्ध गराइसकेको बताएको छ।