राष्ट्र बैंकको तथ्यांकले गत असारमा मासिक आधारमा मूल्य वृद्धि ३४ महिना यताकै न्यून देखाएको छ।
असारमा मूल्य वृद्धिदर ३.५७ प्रतिशत देखिएको छ। वार्षिक आधारमा भने औसत मूल्य वृद्धिदर ५.४४ प्रतिशत छ। यो दुई वर्षयताकै न्यून हो।
अघिल्लो आर्थिक वर्ष २०७९–८० मा यस्तो औसत मूल्य वृद्धिदर ७.७४ र त्यसअघिको आर्थिक वर्ष २०७८–७९ मा औसत मूल्य वृद्धिदर ६.३२ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसलामा २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरूको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरूको ८.२९ प्रतिशतले मूल्य बढेको छ।
घ्यू तथा तेलको मूल्य १०.९९ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरूमा ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशतले मूल्य बढेको छ।
यातायात उप–समूहको मूल्य ०.८२ प्रतिशतले घटेको छ।