गत आर्थिक वर्ष २०८०–८१ मा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम पाँच खर्ब दुई अर्बले धेरै भएको छ।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ।
अघिल्लो वर्षको असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो।
रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ।
यसको अनुपातमा आयातमा भइरहेको कमीले पनि भुक्तानी सन्तुलन देखिएको हो।
आयात घटेको कारण मुलुकको चालु खाता पनि दुई खर्ब २१ रूपैयाँ नाफामा देखिएको छ। सात वर्षपछि चालु खाता वार्षिक रूपमा नाफामा देखिएको हो।
यस्तो खाता आर्थिक वर्ष २०७३–७४ देखि नोक्सानमा रहँदै आएको थियो। चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ।
गत आर्थिक वर्ष आयात १.२ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब रूपैयाँमा सीमित भएको छ।
१४ खर्ब ४५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अवधिमा पर्यटकबाट भएको आम्दानी ८२ अर्ब ३२ करोड रूपैयाँ छ।
प्रत्यक्ष वैदेशिक लगानी ३६.१ प्रतिशतले बढेर आठ अर्ब ४० करोड रूपैयाँ पुगेको छ।