हिमालयन डिष्टिलरीको नाफा करिब ४७ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्ष २०८०–८१ मा कम्पनीले ३५ करोड रूपैयाँ नाफा कमाएको हो। यसअघि कम्पनीको नाफा ६६ करोड रूपैयाँ थियो।
कम्पनीको बिक्रीबाट हुने आम्दानी २६ प्रतिशतले घटेपछि नाफामा प्रभाव परेको हो। कम्पनीको बिक्रीबाट हुने आम्दानी पाँच अर्ब ६५ करोडबाट घटेर चार अर्ब १५ करोडमा सीमित भएको छ।
कम्पनीको प्रशासनिक खर्च केही बढे पनि बिक्री र कर्मचारी लाभ खर्च घटेको छ। कम्पनीले बजारबाट उठाउन बाँकी रकम दुई लाख रूपैयाँ मात्रै छ भने तिर्न बाँकी सात करोड ७० लाख रूपैयाँ छ।
कम्पनीसँग बिक्री गर्न बाँकी समान र कच्चा पदार्थ गरेर ३२ करोड ६५ लाख रूपैयाँ छ भने बैंकमा एक अर्ब रूपैयाँ बचत राखेको छ।
कम्पनीले जिरो लिक्विड डिस्चार्ज, प्लान्ट अटोमेसन र माल्ट डिष्टिलेसन युनिट बनाइरहेको छ। यही कारण कम्पनीको ३१ करोड १३ लाख बराबरको योजनामा काम भइरहेको छ। १० करोड ११ लाख रूपैयाँ विभिन्न लगानीमा छ।
कम्पनीको प्रतिसेयर आम्दानी २४ रूपैयाँ ७२ पैसाबाट घटेर १३ रूपैयाँ २१ पैसा छ।