सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एकपटक नयाँ रेकर्ड बनेको छ।
यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको हो।
आइतबार २५ अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको छ। कारोबार मात्रै होइन सेयर बजार परिसूचक ३० महिनाकै उच्च विन्दुमा आइपुगेको छ। नेप्सेले २८ सयको मनोवैज्ञानिक प्रतिरोध पार गरेसँगै ३० महिनाकै उच्च विन्दुमा आइपुगेको हो।
नेप्से एकैदिन ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २० गते २८७६.७४ विन्दुमा थियो। गत सातादेखि नेप्सेले २८ सयमा कडा प्रतिरोध पाइरहेको थियो।
यो प्रतिरोध पार गरेसँगै बजार थप बढ्ने लगानीकर्ताहरूको अनुमान छ।
यसदिन ३३० वटा धितोपत्रको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर किनबेच भएको हो।
आइतबार २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ। यस्तै दुई कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेन्ट्रिसिटी एण्ड डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत, अपर तामाकोशी हाइड्रोपावर, शुभम् पावर, आत्मनिर्भर लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४५३ रूपैयाँ ४० पैसामा झरेको छ।
सिटिजन सुपर ३० म्युचुअल फण्डको मूल्य ७.५४ प्रतिशतले घटेको छ।
उक्त योजनाको प्रति इकाइ मूल्य ९ रूपैयाँ ९३ पैसा कायम भएको छ।
आइतबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९५३ रूपैयाँमा १ अर्ब ५२ करोडको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७३३ रूपैयाँमा १ अर्ब १६ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४.५५ प्रतिशतले बढेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक ४.४० प्रतिशतले बढेको छ।