सूचीकृत ४८ मध्ये १९ वटा लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण प्रकाशित गरेका छन्।
१९ मध्ये ११ लघुवित्तको लाभांश क्षमता देखिएकाे छ। बाँकीमा कतिपयको क्षमता देखिएको छैन भने कतिपयले पुरानै संरचनाबाट वित्तीय विवरण प्रकाशित गरेकोले लाभांश क्षमता खुलेको छैन।
कम्पनीहरूको वर्षभरीको कार्य सम्पादनको मूल्यांकन यिनै वित्तीय विवरणबाट हुन्छ। यस्ता वित्तीय विवरणको प्रभाव सेयर बजारमा समेत पर्छ।
पछिल्लो समय सेयर बजार बढ्दो क्रममा देखिएको छ। नेप्से २९ महिना यताकै उच्च विन्दुमा पुगेको छ भने दैनिक कारोबार रकम ३५ महिना यताकै उच्च पुगेको छ।
थोरै पुँजीका यी कम्पनीहरूमा सेयर आपूर्ति कम हुने भएकोले पनि आकर्षण उच्च छ। अहिले बजारमा मूल्यका आधारमा सबैभन्दा धेरै मूल्य हुने कम्पनीहरूमा यही समूहका कम्पनीहरूको बाहुल्यता छ।
कतिपय लघुवित्त कम्पनीहरूको लाभांश क्षमता पनि राम्रै देखिएको छ। गत आर्थिक वर्ष भरीको वित्तीय विवरणमा लाभांश क्षमता समेत प्रकाशित गरेका ११ वटाले ३.७८ प्रतिशतदेखि १२५ प्रतिशतसम्म लाभांश क्षमता देखाएका छन्।
यिनमा १० प्रतिशतभन्दा धेरै लाभांश दिन सक्ने क्षमताका लघुवित्त नौ वटा छन्।
युनिक नेपालको क्षमता सबैभन्दा धेरै १२५.६ प्रतिशत छ। फरवार्ड लघुवित्तको २५.२५, नेशनलको २४.११ प्रतिशत, महिला लघुवित्तको २८.५९ प्रतिशतसम्म लाभांश क्षमता देखिएको छ।
त्यस्तै, एनआइसी एशिया लघुवित्तको २५.०७ प्रतिशत, मेरो माइक्रोको १४.९ प्रतिशत, फर्स्ट माइक्रोको ११.१ प्रतिशत, आरएसडिसीको १०.८७ प्रतिशत, ग्लोबल आइएमइ लघुवित्तको १०.५ प्रतिशत, इन्फिनिटी लघुवित्तको ८.६ प्रतिशत र नेरूडे मिर्मिरेको ३.७८ प्रतिशत क्षमता देखिएको छ।
उच्च लाभांश क्षमता देखिए पनि यी कम्पनीले क्षमता अनुसार सबै लाभांश दिन भने पाउँदैनन्।
यी कम्पनीहरूले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
लघुवित्त कम्पनीहरूमा लगानी गर्दा अहिले लगानीकर्ताहरूले अन्य कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ।
तेस्रो त्रैमासमा पनि कतिपय कम्पनी नोक्सानमा देखिएका छन्। तर, तिनको मूल्य भने उच्च नै देखिएको छ। सेयर आपूर्ति कम भएकै आधारमा यसरी मूल्यलाई लगानीकर्ताहरूले उचाईमा पुर्याएका छन्।
त्यस्तै, गत असोज वा चैतमा कतिपय लघुवित्त कम्पनीहरूको खराब कर्जा बढेको छ। यसमा कतिको सुधार देखिँदै गएको छ भन्ने बुझेर नै लगानी गर्नु सही हुन्छ।