आँखुखोला जलविद्युत कम्पनीले आज (आइतबार) देखि चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।
यस अनुसार कम्पनीले १ अर्ब २० करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
हकप्रद शेयर निष्कासन प्रयोजनाको लागि कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त हकप्रदमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ बी माइनस' प्रदान गरेको छ। यसले कम्पनी समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी आस्बा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।