बिहीबार सेयर बजारमा सूचीकृत चार सिमेन्ट उत्पादक कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरमा बढेर सर्किट ब्रेक लाग्यो।
शिवम् सिमेन्ट, घोराही समेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्टको सेयर मूल्य बढेर सर्किट नै लागेको हो।
यी कम्पनीहरूको मूल्य वृद्धि हुनुमा अहिले विभिन्न कारण छन्।
पहिलो, यी कम्पनीको समूहगत परिसूचकमै ब्रेक आउट आएको विश्लेषण।
यी कम्पनीहरू उत्पादन तथा प्रशोधनमूलक समूहमा सूचीकृत छन्। यो समूह केही समयअघि ७९३० विन्दुसम्म पुगेर घटेको थियो। घटेर ७४६८ विन्दुसम्म पुगेको थियो। बिहीबार ८ हजार विन्दु नाघ्न थालेसँगै यसमा ब्रेक आउट आएको मानिएको हो।
कुनै निश्चित विन्दुमा प्रतिरोध पाइरहेकोमा त्यो तहबाट बढ्नुलाई ब्रेक आउट भएको मानिन्छ। बिहीबार यो समूह बढेर ८१८५ सम्म पुग्यो।
दोस्रो, बजारमा चलिरहेको सिफ्टिङ। बजारमा लगानीकर्ताहरूले पछिल्लो समयदेखि कुनै एक क्षेत्र घट्न थाल्दा केही कम मूल्यमा पाइरहेका अर्को क्षेत्रमा कम्पनीहरूमा लगानी गर्ने परिपाटी बनेको छ।
यही कारण पनि अहिले लघुवित्त, बैंक, बीमा लगायतका क्षेत्रको वृद्धि थामिदा लगानीकर्ताहरू उत्पादन तथा प्रशोधनमूलक क्षेत्रका कम्पनीहरूमा लगानी गर्न थालेका हुन्।
तेस्रो कारण, कम्पनीहरूको अवस्थामा सुधार नदेखिए पनि उनीहरूसँग रहेको सञ्चित कोष।
यी कम्पनीहरूमध्ये धेरैले प्रिमियम मूल्यमा सेयर जारी गरेका हुन्। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमा सेयर जारी गरेको थियो।
यही कारण यी कम्पनीहरूसँग सेयर प्रिमियमबापतको रकम छ। यस्तो प्रिमियम बापतको रकम बोनस सेयर दिन नै प्रयोग हुन्छ। त्यसैले पनि लगानीकर्ताहरू यी सिमेन्ट कम्पनीमा आर्कषित भएका हुन्।
नोक्सानमा भएका कम्पनीले भने सोही वर्ष यस्तो रकमबाट लाभांश वितरण गर्न मिल्दैन।
सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्तालाई ४०१ मा र सर्वसाधारणमा ३ सय ६० रूपैयाँ ९० पैसामा सेयर जारी गरेको थियो।
यो बीचमा कम्पनीले एक पटक १५ प्रतिशत नगद लाभांश दिएको छ। यही कारण अहिले पनि कम्पनीमा ९० करोड हाराहारी यस्तो प्रिमियम बापतको रकम रहेको मानिएको छ।
कम्पनीले अन्य सेयर भनेर वित्तीय विवरणमा चार अर्ब ९० करोड रूपैयाँ देखाएको छ। कम्पनी आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा १२ करोडमा नाफामा छ।
त्यस्तै, शिवम् सिमेन्ट आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २० करोड रूपैयाँ नाफामा छ। कम्पनीको सेयर प्रिमियमको रूपमा ९५ करोड रूपैयाँ छ।
सोनापुर मिनिरल्स कम्पनी आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २७ करोड रूपैयाँ नोक्सानमा छ। कम्पनीको सेयर प्रिमियमको रूपमा एक अर्ब ६५ करोड रूपैयाँ छ।
घोराही सिमेन्ट पनि आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा ६४ करोड २५ लाख रूपैयाँ नोक्सानमा छ। कम्पनीको सेयर प्रिमियमको रूपमा दुई अर्ब ६५ करोड छ।