सूचीकृत १६ मध्ये १५ वटा विकास बैंकहरूले गत आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण प्रकाशित गरेका छन्।
कम्पनीहरूको वर्षभरीको कार्य सम्पादनको मूल्यांकन यिनै वित्तीय विवरणबाट हुन्छ। यस्ता वित्तीय विवरणको प्रभाव सेयर बजारमा समेत पर्छ।
अहिले सेयर बजारमा वित्त कम्पनीहरूको सेयर मूल्य ४०८ रूपैयाँदेखि ६३९ रूपैयाँसम्म छ।
वित्तीय विवरण प्रकाशित गरेका चार कम्पनी यसपटक लाभांश दिनै नसक्ने अवस्थामा छन्।
एक्सेल, सप्तकोशी, सिन्धु र ज्योति विकास बैंकले लाभांश दिनै नसक्ने देखिएका छन्।
बाँकीको लाभांश क्षमता ३.८५ देखि १५ प्रतिशतसम्म देखिएको छ।
नारायणी डेभलपमेन्ट बैंकले (प्रिमियम रकम सहित) ३.८५ प्रतिशत, महालक्ष्मी विकासले ४.२४ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ४.७१ प्रतिशत लाभांश दिनसक्ने देखिएको हो।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले ५.१८ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकले ५.७९ प्रतिशत, लुम्बिनी विकास बैंकले ७.४ प्रतिशत लाभांश दिनसक्ने भएका छन्।
साइन रेसुंगाले ८.१२ प्रतिशत, गरिमा विकास बैंकले १०.५२ प्रतिशत, कामना सेवाले १०.९१ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकले १२.८३ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।
मितेरी डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै १५ प्रतिशत लाभांश दिनसक्ने देखिएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई असारसम्मको वित्तीय विवरणमा साउनअन्त्यसम्म उठ्ने ब्याज समेत जोड्न सक्ने सुविधा दिएको छ।
साउनमध्य कटिसकेको छ। अहिले सबैजसो विकास बैंकहरूले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।
त्यसैले लगभग उठ्न सक्ने ब्याज आइसकेको अनुमान गर्न सकिन्छ। तर पनि साउनमसान्तसम्म ब्याज उठेमा बैंकहरूले परिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा यो ब्याज पनि समावेश गर्नसक्ने छन्।
त्यसैले, अहिले प्रकाशित भएको नाफा रकम, लाभांश क्षमतामा पनि धेरथोर परिवर्तन हुनसक्ने सम्भावना रहन्छ।