मंगलबार सेयर बजारमा प्यानिक सेलिङ भएसँगै लगानीकर्ताको सम्पत्ति एकैदिन २ खर्ब ३० अर्ब रूपैयाँले घटेको छ।
कारोबार रकमले नयाँ रेकर्ड राखिरहँदा सेयर लगानीकर्ताहरूको सम्पत्तिमा भने यति रकम बराबरको क्षयीकरण भएको हो।
सोमबार कुल बजार पुँजीकरण ४४ खर्ब ३८ अर्ब रूपैयाँ रहेकोमा मंगलबार यस्तो पुँजीकरण ४२ खर्ब ०८ अर्ब रूपैयाँमा सीमित भएको छ।
मंगलबार सेयर बजारमा इतिहासकै सबैभन्दा धेरै २३ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ।
यतिको सेयर सम्पत्ति पुग्न करिब १२ दिन लागेको थियो। साउन १० गते बजार पुँजीकरण ४० खर्ब ७४ अर्ब रूपैयाँ थियो।
पछिल्लो बजार मूल्यको आधारमा नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल सेयरको मूल्य भनेर कुल बजार पुँजीकरणलाई बुझ्न सकिन्छ।
सेयर मूल्यमा हरेक दिन हुने उतारचढावको आधारमा यो परिर्वतन हुन्छ।
लगानीकर्ताले सेयर बिक्री नगर्दासम्म यस्तो सम्पत्ति वास्तविक सम्पत्ति हुँदैन।
तर, यस्तो सम्पत्तिमा आउने गिरावटले लगानीकर्ताको सेयर धितोमा ऋण लिने क्षमतामा भने प्रभाव पर्छ।
गत असार १६ गते यता सात सय ५९ बढेको बजारमा प्यानिक सेल बढ्दा एकै दिन १४५.०५ अंकले घटेको हो।