मंगलबार सेयर बजारमा ‘प्यानिक सेल’ आएको छ।
निकै लामो समयदेखि बढिरहेको बजार मंगलबार एकैदिन १४५.०५ अंकले घटेको हो।
उच्चमा पुगेको बजारमा लगानीकर्ताहरू अत्तालिँदा सेयर बजार घटेको हो।
सोमबार संसदमा सेयर बजारमा अस्वभाविक वृद्धि भइरहेको टिप्पणी सांसदहरूबाट आएसँगै यसको प्रभाव सेयर बजारमा पनि परेको छ।
गत असार १६ गते यता सात सय ५९ बढेको बजारले २८ सयको विन्दुमा कडा प्रतिरोध पाइरहेको थियो। मंगलबार समेत कारोबार अवधिमा नेप्से एक पटक २८१५ विन्दुमा पुगेको थियो।
बजारमा प्रतिरोध देखिरहँदा सांसदहरूको समेत बजार प्रतिको टिप्पणी बजार घटाउने कारण बन्न पुग्यो।
हुनतः केही क्षेत्रको गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित भएका छन्।
वाणिज्य बैंक र वित्त कम्पनीहरूमा धेरैको लाभांश क्षमता कमजोर देखिएको छ। यसको पनि धेरथोर प्रभाव बजारमा परेको हो। यति हुँदाहुँदै पनि वित्तीय विवरण नआइसकेका कम्पनीहरूको मूल्यमा पनि गिरावट आएको छ।
बजारमा कारोबारमा आएका ३२२ मध्ये २७३ को मूल्य घट्नु र ३० वटाको मात्र मूल्य बढ्नुले पनि लगानीकर्ताहरू आत्तिएको देखिन्छ।
केही लगानीकर्ताहरूले अहिलेसम्म सेयर कारोबारमा भएको नाफा सुरक्षित गरिहाल्न थालेपछि पनि बजारमा बिक्री चाप बढेको हो।
मंगलबार हालसम्मकै उच्च कारोबार समेत भएको छ।
यसदिन २३ अर्ब ७१ करोड पुगेको छ। यसअघि गत बुधबार सो अवधिसम्मकै उच्च कारोबार भएको थियो। सो दिन २१ अर्ब ९१ करोड रूपैयाँको कारोबार भएको थियो।
यस दिन ३२२ वटा धितोपत्रको पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार आठ कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७५४ रूपैयाँ ७० पैसा कायम भएको छ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार २५४ रूपैयाँ कायम भएको छ।
यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ।
नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माइ हाइड्रपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम पावर र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ।
मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ८४९ रूपैयाँमा १ अर्ब ३९ करोडको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९०२ रूपैयाँमा ४८ करोड ३६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ८.२७ प्रतिशतले घटेको छ भने दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ८.०३ प्रतिशतले घटेको छ।