गत आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण आउन थालेको छ।
कम्पनीहरूको वर्षभरीको कार्य सम्पादनको मूल्यांकन नै यसैबाट हुन्छ।
यस्ता वित्तीय विवरणको प्रभाव सेयर बजारमा समेत पर्छ। यद्यपी बैंक तथा वित्तीय संस्थाहरूलाई असारसम्मको वित्तीय विवरणमा साउनअन्त्यसम्म उठ्ने ब्याज समेत जोड्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ।
मध्य साउन कटिसकेपछि बैंकहरूले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेकाले लगभग उठ्न सक्ने ब्याज आइसकेको अनुमान गर्न सकिन्छ। तर, पनि साउन मसान्तसम्म ब्याज उठेमा बैंक तथा वित्तीय संस्थाहरूले परिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा यो ब्याज पनि समावेश गर्न सक्नेछन्।
त्यसैले, अहिले प्रकाशित भएको नाफा रकम, लाभांश क्षमतामा पनि धेरथोर परिवर्तन हुनसक्ने सम्भावना रहन्छ।
अहिले भने वित्तीय विवरणमा लाभांश क्षमता समेत प्रकाशित गरेका र लाभांश गणना गर्न सक्ने गरी वित्तीय विवरण प्रकाशित गरिरहेका कम्पनी हेरौं।
हालसम्म ११ संस्थाहरूले गत आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण प्रकाशित गरेका छन्। यसमध्ये नौं वटाको लाभांश क्षमता प्रकाशित वित्तीय विवरणमा देखिन्छ।
हालसम्मको सूचीमा सबैभन्दा धेरै लाभांश क्षमता हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक छ। बैंकको अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता घटेको हो। तर, पनि यस पटक बैंकको यस्तो क्षमता २६.५ प्रतिशत छ।
कामना सेवा विकास बैंकको नाफा नै ६६ प्रतिशतले बढेर ६० करोड रूपैयाँ पुगेकोे छ। बैंकको लाभांश क्षमता १०.९१ प्रतिशत छ। यसअघि १.६१ प्रतिशत क्षमता थियो।
आरएसडिसी लघुवित्तको नाफा ४० प्रतिशतले बढेर १४ करोड रूपैयाँ पुगेको छ। कम्पनीको लाभांश क्षमता १०.८७ प्रतिशत छ।
सिटिजन्स बैंकको नाफा २७.९ प्रतिशतले घटेर एक अर्ब ३४ करोडमा सीमित भएको छ। कम्पनीले ४.३४ प्रतिशत लाभांश दिनसक्ने क्षमता देखिएको छ।
त्यस्तै, नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को नाफा ५.९८ प्रतिशतले घटेर एक अर्ब ३३ करोडमा सीमित भएको छ।
बैंकले नियामकीय समायोजनपछिको नाफा ७० करोड रूपैयाँ देखाएको छ। यस आधारमा कम्पनीले ३.२४ प्रतिशत हाराहारी लाभांश दिन सक्ने देखिन्छ। बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रूपैयाँ छ।
नेपाल फाइनान्सको नाफा करिब १० प्रतिशतले घटेर एक करोड ८१ लाखमा सीमित भएको छ। कम्पनीको वितरण योग्य नाफा रकम २० करोडले ऋणात्मक छ। त्यसैले कम्पनीले लाभांश दिन सक्ने अवस्था छैन।
हिमालयन लघुवित्त कम्पनीको पनि नाफा एक करोडबाट घटेर ७५ लाख रूपैयाँमा सीमित भएको छ। कम्पनीको लाभांशको रूपमा बाड्न सक्ने रकम २२ लाख रूपैयाँले ऋणात्मक छ। कम्पनीले पनि लाभांश बाड्न सक्दैन।
दिव्यश्वरी हाइड्रो र न्यादी हाइड्रोपावर कम्पनी दुवै नोक्सानमा छन्। त्यसैले यी कम्पनीले लाभांश दिन सक्दैनन्। दिव्यश्वरी हाइड्रो तीन करोड ९१ लाख र न्यादी हाइड्रोपावर १६ करोड ६६ लाख रूपैयाँ नोक्सानमा छन्।