ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत् अनलाइन उपलब्ध गराउने गरी 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ।
सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरूलाई बैंकको वेबसाइटमार्फत् अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो।
बैंकले क्युआर कोड तथा पिओएस रजिष्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो सेयर, एटिएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरू बैंकको वेबसाइटबाटै अनलाइन प्रदान गर्नेछ।
ग्राहकहरुले यस बैंकको वेबसाइटमा रहेकाको 'डिजिटल युनिभर्स' मा गई वा https://digitaluniverse.gibl.com.np/ मा सिधै क्लिक गरी उल्लेखित सेवाहरू आफ्नो अनुकुलमा प्रयोग गर्न सक्नेछन्।
बैंकले केही दिन अगाडि विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको थियो।
जसमा चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटिएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेका छन्।
पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूलाई अनलाइनमार्फत् नविनतम बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले डिजिटल युनिभर्स सार्वजनिक गरेको हो।
आजको युगमा डिजिटल बैंकिङको महत्त्व बढ्दै गएको छ। डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ।
ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्स नेपाली बैंकिङ क्षेत्रमा नवीन प्रयास रहेको छ।
यसले हाम्रो बैंकिङ क्षेत्र तथा मुलुकको समग्र डिजिटल रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको अपेक्षा छ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एकभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।