एशियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।
एडीबीले सार्वजनिक गरेको एशियन आउटलुक २०१८ मा चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको हो। यता, नेपाल सरकारले भने चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अनुमान गरेको छ।
आउटलुक सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका नेपाल प्रतिनिधि मानबर खड्काले वर्षाैदेखिको राजनीतिक अस्थिरता र संरचनागत कठिनाइले नेपालको आर्थिक वृद्धिदर गत वर्षभन्दा कम हुने अवस्था आएको पाइएको जानकारी दिए।
बैंकको प्रतिवेदनमा औद्योगिक वृद्धिदर गत वर्षको भन्दा १ दशमलव ५ प्रतिशतले कमी हुन जाने औंल्याउँदै कृषि, थोक तथा खुद्रा व्यापार विस्तार, वित्तीय मध्यस्तता, यात्रा तथा पर्यटन उपक्षेत्रका कारण सेवा क्षेत्र भने उत्साहजनक रहने उल्लेख गरिएको छ।
एडीबीले नेपालको व्यापार घाटा झनै बढेर जाने अनुमान पनि गरेको छ। निर्यात व्यापार खस्कँदै गएका कारण नेपालले चालू आर्थिक वर्षमा झनै व्यापार घाटा व्यहोर्नुपर्ने अवस्था रहेको आउटलुकमा उल्लेख गरिएको छ।
बैंकका देशीय निर्देशक मुख्तोर खमुदखानोभले आधुनिक प्रविधिलाई आत्मसात गर्दै पूर्वाधारको निर्माण गरेर राजस्व बढाउन पनि नेपाल सरकारलाई सुझाव दिए। राजस्व बढाउनका लागि नेपालले आधुनिक प्रविधिको विकासमा विशेष ध्यान दिनुपर्ने एडीबीको सुझाव छ।
आउटलुकमा विद्युत आपूर्तिको राम्रो व्यवस्थापन हुँदा नेपालमा कृषि उत्पादनले राम्रो प्रतिफल दिएको पनि देखाएको छ ।
https://www.youtube.com/watch?v=uvps-0qgW38&feature=youtu.be