नेपाल धितोपत्र बोर्डले सम्पत्ति सुद्धीकरण तथा धितोपत्र ऐनको उल्लंघन गरेको भन्दै तीन ब्रोकर कम्पनी तथा दुई कार्यकारी प्रमुखलाई कारबाही गरेको छ। यसरी कारबाहीमा परेका कम्पनीहरुमा अग्रवाल, श्रीहरि र सिप्रवी सेक्युरिटिज कम्पनी छन्।
सम्पत्ति सुद्धीकरण ऐनअनुसार अग्रवाल र श्रीहरि सेक्युरिटिजलाई १०–१० लाख तथा धितोपत्र ऐनअनुसार दुवैलाई थप ५०–५० हजार जरिवाना गरिएको छ।
त्यस्तै सिप्रवी सेक्युरिटिजलाई धितोपत्र ऐनअनुसार ५० हजार जरिवाना गरिएको छ। अग्रवाल र श्रीहरिका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि ५०–५० हजार जरिवाना गरिएको बोर्डले जनाएको छ।
चिलिमे जलविद्युत, नेशनल हाइड्रोपावर तथा सानिमा माई हाइड्रोपावरको नक्कली सेयर खरिदबिक्रीमा संलग्न भएको आरोप यी तीन कम्पनीलाई लागेको छ।
‘ग्राहकसँग सम्वन्ध राख्दा स्पष्ट विवरण नराखेको, सम्पत्ति शुद्धीकरण निवारण ऐन र सो अन्र्तगत जारी भएका नियम, निर्देशन, आदेश, परिपत्र तथा सम्बद्ध अन्य कानुन बमोजिम सम्बद्ध संस्थालाई जानकारी गराउनुपर्नेमा सोअनुसार नगराइएको पाइएको छ’ बोर्डले विज्ञप्तिमा भनेको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (दोस्रो संशोधन सहित) को दफा ७ फ को खण्ड(ख) बमोजिम अग्रवाल र श्रीहरिलाई दस–दस लाख जरिवाना गरिएको बोर्डले स्पष्ट पारेको छ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम तीन ब्रोकर कम्पनी र अग्रवाल तथा श्रीहरिका प्रमुख कार्यकारीलाई ५०–५० हजारका दरले जरिवाना गरिएको बोर्डले जनाएको छ।
तत्कालीन समयमा कारोबारमा मुछिएका गोविन्द घिमिरेबिरुद्ध बोर्डले यसअघि नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।