सेयर लगानीकर्ताले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेटवार्ता गरी तरलता सहज गराउन आग्रह गरेका छन्। तरलता अभाव हुँदा सिधा सेयर बजारमा असर पर्ने गरेको भन्दै यस सम्वन्धमा संघका प्रतिनिधीले मन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
सो अवसरमा खर्च हुन नसकेको सरकारी रकम वाणिज्य बैंकहरुमा राख्न तथा राष्ट्र बैंकमार्फत तरलता सहज गर्नेगरी विभिन्न उपायहरु अवलम्वन गर्न आग्रह गरे। राष्ट्र बैंकको तथ्याङ्कअनुसार अहिले ३ खर्ब रकम सरकारी खातामा थन्किएको छ। त्यस्तै पुस मसान्तमा ६० अर्ब रुपैयाँ राजश्व संकलन हुँदैछ।
सरकारी राजश्व खर्च नभई थन्किने, बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुने परिपाटीले सेयर बजार मात्रै नभई औधोगिक क्षेत्र समेत धरासायी हुने भन्दै उनीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराए। विभिन्न सरकारी निकायको खाता संचालन जिम्मा राष्ट्र बैंकले मात्रै नहेरी वाणिज्य बैंकहरुलाई पनि दिइनुपर्ने माग उनीहरुले गरे।
सो अवसरमा मन्त्री कार्कीले यस विषयमा राष्ट्र बैंक तथा सम्वद्ध निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाएको संघका सदस्य केशव भण्डारीले जानकारी दिए।
संघको मागमा आफू शत प्रतिशत सकारात्मक भएको जानकारी मन्त्रीले दिएको भण्डारीले बताए। ‘सरकारी खातामा थन्किएको केही रकम वाणिज्य बैंकहरुमा जम्मा गर्नेगरी आफूले पहल गर्ने आश्वासन मन्त्रीले दिनुभयो’ भण्डारीले भने ‘अब त्यो प्रक्रिया सुरु हुनेमा हामी पनि विश्वस्त भएका छौँ।’
संघको टोलीले मंगलबार यस सम्वन्धमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालसँग पनि भेटवार्ता गर्ने भएको छ। भेटवार्तामा तरलता सहज गर्न राष्ट्र बैंकले ऋणपत्र खरिद वा अन्य उपायमार्फत रकम बैंकमा पठाउनुपर्नेमा संघले ध्यानाकर्षण गराउने छ। राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुसँग ३० अर्ब रुपैयाँ अधिक तरलता छ।
यसअघि आइतबार मात्रै राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत ५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको छ।