साताको सुरुआती दिनमै सेयर बजारमा भारी गिरावट आएको छ। बजारको नेप्से परिसूचक १४ सय अंकमुनि झरेको छ।
कतिपय विश्लेषकहरुले नेप्सेले १४ सयको आड पाउन सक्ने विश्लेषण गरिरहेका बेला परिसूचक १३९० अंकमा झरेको छ। एकै दिन २४ अंकले बजार घटेको हो।
१५८ कम्पनीको ५८ करोड ७८ लाखको सेयर किनबेच भएको छ। बजारको पुँजीकरण १६ खर्ब १७ अर्बमा झरेको छ। व्याजदर बढिरहँदा त्यसको सबैभन्दा ठूलो असर सेयर बजारमा परेको लगानीकर्ताहरु बताउँछन्।
यस दिन होटलबाहेकका सबै उपसूचक घटेका छन्। सो उपसूचक ४ अंकले बढ्यो। बैंकिङ १६, व्यापार ४, विकास बै.क १६, जलविद्युत १२, फाइनान्स ३, बिमा ८३, उत्पादन ८, अन्य ५५ र माइक्रोफाइनान्स सूचक ३७ अंकले घटे।
एनसीसी बैंकको संस्थापकतर्फको सेयरको सबैभन्दा बढी कारोबार भयो। उसको ९ करोड ६९ लाखको कारोबार भयो। एनसीसी संस्थापकको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँ छ।
त्यस्तै प्रभु बैंक संस्थापकर्फको ३ करोड ७८ लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता १६० मा कायम भएको छ। स्टान्डर्ड चार्टड तथा नविल बैंक पनि काराबारमा अगाडि रहे। स्टान्डर्ड चार्टडको मूल्य प्रतिकित्ता ९६६ कायम भएको छ।
शत प्रतिशत बोनसपछि समायोजित मूल्यमा कारोबार हुँदा अन्तिम समयमा सो मूल्य कायम भएको हो। पोखरा फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत नाफा कमाए।
यस दिन नेपाल टेलिकमका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७८ कायम भएको छ। जुन अघिल्लो दिनको तुलनामा ७.७ प्रतिशत कम हो।
कम्पनीको ५५ प्रतिशत नगद लाभांशका लागि बुक क्लोज भएकाले मूल्य उच्च दरमा घटेको हो। आज सेयर किन्नेले सो नगद लाभांश पाउँदैनन्। अघिल्लो दिनसम्म सेयर हुँदा लाभांश पाइसक्ने भएपछि आज बिजारमा बेच्नेहरुको चाप पर्यो। अर्कोतर्फ आज किन्नेले लाभांश नपाउने भएकाले उच्च दरले मूल्य घटाएर मात्रै किन्नेहरु देखिए।
श्री इन्भेष्टमेन्ट फाइनान्स, बरुण हाइड्रो, डिप्रोक्स डेभलपमेन्ट, नविल बैंकका लगानीकर्ता पनि गुमाउनेमा अगाडि रहे। ति कम्पनीको मूल्य ६ प्रतिशत बढीले घटेको छ।