लगानीयोग्य रकमको अभाव खेपिरहेका बैंकहरुमा बेला राष्ट्र बैंकले २ अर्ब ३१ करोड रुपैयाँ निक्षेप जम्मा गर्ने भएको छ।
एक वर्षे मुद्दति निक्षेपमा वाणिज्य, विकास बैंक तथा फाइनान्सहरुमा लगानी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
१ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ वाणिज्य बैंकहरुमा, ३४ करोड ७६ लाख विकास बैंकहरुमा र ११ करोड ५९ लाख रुपैयाँ फाइनान्सहरुमा जम्मा गर्ने जनाएको छ।
एक सूचना जारी गर्दै उसले बैंक तथा वित्तीय संस्थाहरुलाई चाहेको व्याजदर खुलाई सिलबन्दी दरभाउपत्र पेस गर्न भनेको छ।
तोकिएको न्युनतम पुँजीकोष पुरा भएको, निश्कृय कर्जा ५ प्रतिशतमुनि रहेको लगायत राष्ट्र बैंकले तोकिएको सीमाभित्र वित्तीय अवस्था रहेका बैंक तथा वित्तीय संस्थाहरुले रकम लिन सक्नेछन्।
राष्ट्र बैंकले आजै ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र खरिद गर्नेछ। जसले गर्दा साँघुरिएको तरलतामा केही सुधार आउने विश्वास बैंकले लिएको छ।