यो साता सेयर बजारको परिसूचक ५८ अंकले झरेको छ। १४७२ अंकमा अघिल्लो साता बन्द भएको कारोबार यो साता १४१४ अंकमा रह्यो। आइतबारदेखि बिहीबारसम्म भने ५२ अंकले बजार घट्यो।
साताभर नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको कारोबार भएको छ। दुई अर्ब ६८ करोडको कारोबार भएको छ। कारोबार रकम अघिल्लो साताको भन्दा ४ प्रतिशत बढी हो। अघिल्लो साता दुई अर्ब ५७ करोडको सेयर खरिदबिक्री भएका थिए।
यो साता सबै उपसूचक घटेका छन्। वाणिज्य बैंक ५२, विकास बैंक ७४, वित्त २१, लघुवित्त ५९, होटल २१, जलविद्युत ६७, बिमा २७९, उत्पादन २४, अन्य १२ अंकले घटेका छन्। व्यापार भने स्थिर रह्यो। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.३९ अंकले घट्यो।
यो साता कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ५० करोड ३६ लाख रुपैयाँको कारोबार भयो। दोस्रोमा रहेको नेपाल टेलिकमको २३ करोड ६० लाखको कारोबार भयो। यी दुवै कम्पनीको लाभांशका लागि बुक क्लोजको मिति नजिकिँदा कारोबार उच्च देखिएको हो। स्टान्डर्डले १ सय प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांश दिँनेछ भने टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिनेछ।
एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स (संस्थापक) तथा नेपाल लाइफ इन्स्योरेन्स साधारण कम्पनी कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। किसान माइक्रोफाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स तथा सानिमा माइ हाइड्रोको हकप्रद सेयर यो साता बजारमा सूचीकृत भएको छ।