सेयर बजारको परिसूचक घटिरहँदा कारोबारमा भने उत्साह देखिएको छ। दुई दिनदेखि बजारमा कारोबार रकम उल्लेख्य बढेको छ।
अघिल्लो दिन पौने अर्बको सेयर किनबेच भएकोमा आज ८१ करोड ६९ लाख पुग्यो। अघिल्लो दिन २२ करोडले कारोबार रकम बढेकोमा आज ६ करोडले बढेको छ। घटेको मौकामा ठूला लगानीकर्ताले लगानी बढाएपछि कारोबार रकममा उत्साह देखिएको लगानीकर्ता बताउँछन्।
‘स्वभाविक रुपमा घटेपछि किन्नेहरु बढ्छन्, कारोबार बढ्दै जानु भनेको सकारात्मक कुरा हो’ एक लगानीकर्ताले भने। समग्र कारोबार बढे पनि परिसूचक भने १० अंकले घटेको छ। १०. ७३ अंकले घटेर नेप्से १४१४ मा कायम भएको छ। बजारको पुँजीकरण १६ खर्ब ४५ अर्बमा झरेको छ।
व्यापार, होटल र अन्य उपसूचक बढेका छन् भने अरु सबै घटेका छन्। व्यापार ४, होटल ७ र अन्य उपसूचक १ अंकले बढे। बैंकिङ १६, विकास बैंक १२, जलविद्युत ६, बिमा ३ तथा माइक्रोफाइनान्स उपसूचक ३ अंकले घटे। उत्पादन तथा फाइनास सूचक भने १ अंकमुनि रातो रहे।
कारोबारका आधारमा स्टान्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। उसको २२ करोड ८० लाखको कारोबार भयो। सो कम्पनीको १०५ प्रतिशत लाभांश सुरक्षित गर्नका लागि सेयर किन्नुपर्ने अन्तिम दिन भएकाले कारोबार उच्च देखिएको हो।
उस्तै कारणले नेपाल टेलिकमको पनि उच्च कारोबार भयो। १० करोड ३० लाखको कारोबार भएको उसले ५५ प्रतिशत नगद लाभांश दिँदैछ। जसका लागि १६ गते बुक क्लोजको मिति तोकिएको छ।
माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए। युनाइटेड फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत नाफा कमाउँदा नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत गुमाए।