बीमा बजारमा पछिल्लो समय विकृति बढेको भन्दै विज्ञहरुले चिन्ता व्यवक्त गरेका छन्।
विश्वव्यापी रुपमा बीमामा नयाँ प्रविधि र तरिका आईरहेका बेला विकृतिहरु संस्थागत हुँदै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन्।
बीमाका लागि आफैले अनेक घटनाहरु निम्त्याउने, वास्तविक पीडितले क्षतिपूर्तिका लागि झन्झट व्यहोर्नुपर्ने तथा धेरै समय खर्चिनुपर्नेजस्ता समस्याले बिमक र बिमित दुवैका लागि समस्या देखिएको औंल्याए।
बिमा समिति र नेपाल वित्तीय संस्था कर्मचारी संघले शनिबार संयुक्त रुपमा गरेको अन्र्तरक्रियामा सहभागी विज्ञले बिमा कम्पनीका कर्मचारी समेत विकृतिमा मुछिने गरेको औंल्याए।
राष्ट्रिय विमा संस्थानका पुर्व कार्यकारी प्रमुख आश्विनी कुमार ठाकुरले विकृतिहरु प्रणाली नै बनिसकेको भन्दै चिन्ता व्यक्त गरे।
राष्ट्रिय बीमा संस्थानका पुर्व कार्यकारी प्रमुख ठाकुरले बीमा समितिले बनाएको लगानी नीतिका कारण अर्थतन्त्रको मुल प्रवाह र भूमिकामा कम्पनीहरु आउन नसकेको बताए।
नीतिले लगानीको क्षेत्रलाई सीमित गरेकाले पनि समस्या भएको उनको भनाइ थियो। कार्यक्रममा अर्थमन्त्रालयका सह सचिव उदयराज सापकोटाले बीमाको उपादेयता र लाभका बारेमा जनस्तरसम्म जनचेतना फैलाउनुपर्ने बताए। सुरक्षाका हिसावले जोखिमपूर्ण क्षेत्रमा बीमाको पहुँच नपुगेको भन्दै उनले सबै क्षेत्रमा पहुँच पुर्याउन आग्रह समेत गरे।
कार्यक्रममा सरोकारवालाहरुले बीमा सम्बन्धी नीति निर्देशिकाको प्रभावकारी कार्यान्वयन, बिमा व्यवसाय अभिवृद्धिका लागि राज्यले प्रोत्साहन नीति ल्याउनुपर्ने, लाइसेन्स नीतिमा देखिएको जटिलतालाई सरल बनाउनुपर्नेमा जोड दिएका थिए।