बैंक तथा वित्तीय संस्थाका सिइओ र संचालकको योग्यता हेरफेर भएको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रावधान अनुरुप राष्ट्र बैंकले बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तका सिइओ र संचालकको योग्यता हेरफेर गरेको हो।
बैंक तथा वित्तीय संस्थाहरुको श्रेणीअनुसार योग्यता तोकिएकोमा अहिले वाणिज्य बैंकदेखि लघुवित्तसम्मका संस्थालाई एउटै नियम लगाइएको छ। जसअनुसार बैंकका लागि केही खुकुलो र लघुवित्तका लागि केही कँसिलो देखिएको छ।
नयाँ व्यवस्थाअनुसार अब स्नातक गरेको व्यक्ति बैंक तथा वित्तीय संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृत हुन पाउने छन्। साथै तीन वर्षको अनुभव भए पुग्नेछ। यसअघि बैंक संचालक र सिइओका लागि स्नाकोत्तर गरेको हुनुपर्ने थियो। यदी स्नातक मात्रै गरेको अवस्थामा १० वर्षको अनुभव तोकिएको थियो।
व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, कानून, ग्रामिण विकास, समाजशास्त्र, कृषि बिषयमा स्नातक उत्र्तिण गरी ३ वर्षको अनुभव हुनुपर्नेछ।
यीमध्ये ग्रामीण विकास, समाजशास्त्र, कृषि पढेका व्यक्ति पनि सिईओ तथा संचालक बन्न पाउनेगरी थपिएको हो।
यसअघि लघुवित्त वित्तीय संस्थाको सञ्चालक बन्न प्सटु वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र २ वर्षको अनुभव भएको हुनुपर्नेमा अब वाणिज्य बैंकसरह नै स्नातक गरेको र ३ वर्षको अनुभव हुनुपर्नेछ।