बैंक अफ काठमान्डुले शुक्रबारदेखि ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामी बिक्रीका लागि खुल्ला गरेको छ।
सर्वसाधारणले लिलाम बढाबढमा सो सेयर गोप्य शिलबन्दीबाट खरिद गर्न सक्नेछन्। यसमा मंसिर २९ गतेसम्म मात्र आवेदन दिन पाइनेछ।
बिक्री प्रवन्धकका रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ रहेको छ। बजारमा यसको अन्तिम मूल्य २७० रुपैयाँ छ। यसअघि बैंकले १६६ रुपैयाँ प्रिमियम रकम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति धितोपत्र बोर्डसँग मागेको थियो।
बोर्डले फेस भ्यालुमा बोलकबोलमा बिक्री गर्न निर्देशन दिएपछि सोही अनुसार लिलामीमा ल्याएको हो। लिलामीपछि बैंकमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको सेयर रहनेछ।
बिओकेको लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। नक्सालमा रहेको बिक्री प्रवन्धकको कार्यालयका अलवा बैंक अफ काठमान्डुको केन्द्रीय कार्यालय कमलपोखरी, शाखा कार्यालयहरु अनामनगर, न्यूरोड, भक्तपुर, जाउलाखेल, महाराजगन्ज, चाबहिल, नयाँ बानेश्वर तथा त्रिपुरेश्वरबाट आवोदन दिन सकिनेछ।
त्यस्तै उपत्यकाबाहिर बिराटनगर, जनकपुर, विरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, बिर्तामोड, धरान तथा बागलुङबाट आवेदन दिन सकिनेछ।
हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रहेको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले २२ करोड ४० लाख खुद नाफा कमाएको छ भने प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा छ।