भारतीय एक्सिस बैंकबाट पठाएको रकम ग्लोबल आइएमईबाट बुझ्न सकिने भएको छ।
ग्लोबल आईएमई र भारतस्थित एक्सिस बैंकबीच व्यवसायिक कारोबार सम्बन्धी सम्झौता भएसँगै यो सुविधा थपिएको हो।
भारतस्थित एक्सिस बैंकका ३ हजारभन्दा बढी शाखाहरु मार्फत पठाएको रकम नेपालमा रहेका ग्लोबल आइएमई बैंकका १ सय ८ शाखाहरुबाट बुझ्न सकिने बैंकले जनाएको छ।
एक्सिसबाट पठाएको रकम ग्लोबलका शाखाबाहेक इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६ हजार तथा बेष्ट रेमिटका ४ हजार बढी एजेन्टबाट पनि प्राप्त गर्न सकिने छ।
गत असोज मसान्तसम्म १ खर्ब ४ अर्ब निक्षेप संकलन गरेको बैंकले ८८ अर्ब ७७ करोड कर्जा लगानी गरेको छ। बैंकका हाल १०८ शाखा, १४ राजश्व संकलन काउण्टर, एउटा सिडिएससी काउण्टर, १२६ एटिएम, ४ एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।