जनता बैंकले सेयर लगानीकर्तालाई गत आर्थिक वर्ष कमाएको खुद नाफाभन्दा धेरै रकमको सेयर लाभांश दिने भएको छ।
बैंकले गत आर्थिक वर्ष ६४ करोड १८ लाख खुद नाफा कमाए पनि लगानीकर्तालाई भने १ अर्ब ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो।
चुक्ता पुँजी ८ अर्ब पुर्याउनका लागि १ अर्ब बराबरको बोनस दिनुपर्ने वाध्यता परेकाले बैंकले लाभांश दिनका लागि अपुग रकम जगेडा कोषबाट व्यवस्थापन गरेको हो।
बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड छ। यस हिसावले लगानीकर्ताले १४ दशमलव ४ प्रतिशत सेयर बोनस पाउने छन्। प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।
बोनसपश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड पुग्नेछ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ करोड ४८ लाख खुद नाफा कमाएको छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७१ पैसा छ। बिहीबार बजार बन्द हुँदा उसको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ छ।