तनहुँ म्याग्दे गाउँपालिकाको थर्पू बजारमा ज्योति विकास बैंकले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।
म्याग्दे गाँउपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योतिले शाखा संचालनमा ल्याएको बैंकले दावी गरेको छ। उक्त शाखा कार्यालयको गाउँपालिका प्रमुख मायादेवी राना र बैंक संचालक समिति अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे।
देवघाट र थर्पू शाखा गरी बैंकको तनहुँ जिल्लामा मात्रै २ वटा शाखा कार्यालय भएका छन्।
स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसायमा केन्द्रित भई लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराइने बैंकले जनाएको छ।
मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्वलाई जोड दिने उद्देश्यले ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिएको अध्यक्ष खड्काले बताए।
२०६५ साल साउन ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको ज्योतिको ४६ वटा शाखा कार्यालय र १४ एटिएम संचालनमा छन्।
हालसम्म विकास बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्ता पुँजी २ अर्व ३७ करोड पुगेको छ।